Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिब रेग्मीको अवस्था चिन्ताजनक !

फिल्मीखबर, काठमाण्डौ, 2013/08/02

दुबै मृगौलाले काम नगरेको अवस्थामा रहेका बरिष्ठ निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा छ । निर्देशक रेग्मीका निकट मित्र तथा निर्माता केशब भट्टराईका अनुसार स्वास्थ्यमा उतारचढाव आएपछि ओम हस्पिटलको आईसियू कक्षमा भर्ना गरिएको छ ।

 

'तीन दिन अगाडी सम्म ठिक हुनुहुन्थ्यो । हिजो राती १२ बजेपछि एक्कासी रक्तचाप बढेपछि उहाँको अवस्था अलि गम्भिर देखिएको हो,' केशबले भने- 'टिचिङ हस्पिटलमा आईसियू कक्ष खाली नभएपछि उहाँलाई अहिले ओम हस्पिटलको आईसियू कक्षमा सारिएको छ ।' मृगौला प्रत्यारोपण गर्न महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा निर्देशक रेग्मीलाई भर्ना गरिएको थियो ।

 

'स्वास्थ्य ठिक नभएसम्म मृगौला प्रत्यारोपण गर्न नमिल्ने डाक्टरले बताएका छन्,' केशबले थपे- 'अब स्वास्थ्यमा सुधार आउन कति समय लाग्छ भन्न गार्‍हो छ ।' निर्देशक रेग्मीलाई उनकै भाईले मृगौला दिने तयारी गरेका थिए ।

 

यता निर्देशक रेग्मीको स्वास्थ्य उपचारका लागि सहयोग गर्ने क्रम चलिरहेको छ । केहि समय अगाडी चलचित्र विकास बोर्डले रू पाँच लाख र चलचित्र संघले रू एक लाख सहयोग गरेका थिए । यस्तै युकेबाट एनआरएन ईशा गुरुङले रू पचास हजार सहयोग गरेकी थिईन् । निर्माता संघको पहलमा निर्माता बिरेश श्रेष्ठले पनि निर्देशक रेग्मीको सहयोगार्थ रकम संकलन गरिरहेको बताईएको छ ।