साउनको सोमबारे व्रत र दुखेको शरीर । सुटिङ सेटमै थेरापिस्ट उपस्थित छन् । हाँस्य अभिनेता दिपकराज गिरी खाली पेट र पिडायुक्त शरीरमा बालाजुस्थित राष्ट्रिय चलचित्र विकास कम्पनीको सुटिङ सेटमा टेक दिंदै थिए । फिल्मीखबर टिम सुटिङ सेटमा पुग्दा दिपक चुलबुल पाण्डे शैलीमा प्रस्तुत थिए ।
केहि समयका लागि सुटिङ ब्रेक गरेर फिल्मीखबरसँग गफिन आइपुगेका दिपकले सुटिङको अनुभव सुनाए । उनले भने- 'एक साता जति फाईटको सिन दिइयो । शरीर दुखेको छ । धेरै गाह्रो भएर सुटिङ रोकिएला भनेर थेरापिष्टलाई सेटमै झिकाएको छु ।' फिल्मका प्रमुख कलाकार मध्येका एक दिपकले तीतो सत्यलाई जस्तै 'छ एकान छ'लाई पनि दर्शकको साथ र हौसला मिल्ने विश्वास व्यक्त गरे । फिल्मको कथा उनकै हो ।
त्यस्तै दिपकलाई फाईटको स्टाइल सिकाइरहेका फाईट गुरु एनवी महर्जनले फिल्ममा पर्फेक्ट स्टाइलको फाईट राख्न कोशिस गरेको बताए । कमेडी कलाकारलाई फाईट सिकाउनुको चुनौती के रहेछ त ? द्धन्द्ध निर्देशकले भने- 'कलाकारको फाइटले दर्शक हाँस्नु पर्यो । यो उनीहरुलाई सिकाउनु नै मेरो लागी ठुलो चुनौती हो ।'
फिल्मका लगानीकर्ता निर्मल शर्माका लागि पनि 'छ एकान छ' फिल्मी करिअरको छैठौं चुनौती हो । निर्मलका यसअघि पाँच फिल्म व्यवसायिक रुपमा असफल भएका छन् । यो फिल्मबाट सुरक्षित हुने उनको विश्वास केमा छ त ? तितो सत्यका गैंडा भन्छन्- 'तीन सफल हाँस्य व्याङ्ग्य टेलिफिल्मका कलाकारको संयोजन नै मेरो फिल्मको सफलताको आधार हो । दर्शकले यो फिल्मबाट कमेडीको पञ्च पाउनुहुनेछ ।'

दिपककी जोडी दिपाश्री निर्रौला भने 'छ एकान छ'को पर्दामा देखिने छैनन् । सह-निर्देशनको जिम्मा लिएकी दिपा भन्छिन्- 'फिल्ममा मैले जति जिम्मेवारी पाएको छु, त्यसलाई खुसीसाथ निर्वाह गरेको छु । पर्दामा नदेखिएकोमा मलाई कुनै असन्तुष्टी छैन ।' एक समय फिल्ममा नायिका भएर प्रस्तुत भएकी दिपाको यो फिल्मबाट सिकाइ चाहि के हो त ? आवाजकी धनियाँ भन्छिन्- 'बाहिर बसेर फिल्मबारे कमेन्ट गर्न जति सजिलो छ, यहाँ बसेर काम गर्न त्यसको चार गुणा कठिन छ । त्यसकारण हरेक कुराको प्रतिक्रया जनाउँदा हामीले पृष्ठभुमीको दु:खलाई पनि सम्झनु पर्छ भन्ने मेरो सिकाइ हो ।'

निर्देशक दिनेश डिसी भने फिल्मले मास र क्लासलाई हँसाउने विश्वास गर्छन् । कलाकारको प्रस्तुतीबाट सन्तुष्ट निर्देशक डिसी भन्छन्- 'फिल्मले ठुलो क्यानभासलाई उतार्ने प्रयास गरेको छ ।' पुरुषोत्तम प्रधानले खिचिरहेको 'छ एकान छ'को सुटिङ अबको एक सातामा सम्पन्न हुनेछ । धुलिखेल र काठमाण्डौ आसपासमा सुटिङ गरिएको यो फिल्मकी एक मात्र महिला पात्र नायिका निता ढुङ्गाना हुन् ।

पौष २६ गतेलाई रिलिज डेट ताकिएको फिल्ममा दिपकको साथमा शिवहरी पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सन्दिप क्षेत्रीको मुख्य भुमिका छ । फिल्ममा अभिनेता राजबल्लभ कोइराला अतिथि खलपात्रको भुमिकामा प्रस्तुत भएका छन् । प्रोमोश्नल गीत सहित तीन गीत रहने फिल्ममा शम्भुजित बास्कोटा र राजन ईशानको संगीत छ । सानो पर्दामा सफल हाँस्य व्याङ्ग्य कलाकारको फिल्म छ एकान छ कस्तो बन्नेछ ? प्रतिक्षाको विषय हुनेछ ।

