विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले ओस्कार फिल्म फेस्टिभलमा पठाइने चार वटै फिल्मलाई हेरेको छ । नेपालबाट फिल्म सुनगाभा, साँघुरो, बधशाला र शिरिषको फूल ओस्कार यात्राको लिस्टमा पर्न सफल भएका छन् । यी नेपालमा प्रदर्शन भैसकेका फिल्म हुन् ।
विकास वोर्डमा हेरिएका फिल्मको हाल समिक्षात्मक टिप्पणी भैरहेको छनोट समितिका अध्यक्ष विमल पौडेलले जानकारी गराए । छनोट समितिमा अध्यक्ष पौडेल सहित लक्ष्मिनाथ शर्मा, प्रदीप प्रदिप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली (कपील) छन् । नेपाली छनोट समितिले ओस्कार समितिलाई सोधेको जिज्ञासाको जवाफ आएपछि यही साता चार मध्ये एक फिल्मलाई छनोट गर्नेछ ।
चार वटै फिल्म ओस्कार यात्राको लागि उचित रहेको अध्यक्ष पौडेलको भनाई छ । उनले भने- 'सिङ्गो मुलुकको प्रतिनिधित्व गर्ने एउटा फिल्मलाई ओस्करको लागी सिफारिस गर्नेछौं ।' सिफारिस गरएको फिल्मलाई आउँदो असोज २५ गतेसम्म लस एञ्जल्समा पठाई सक्नु पर्नेछ ।
नेपालबाट प्रतिनिधित्व गर्दै जाने फिल्म ओस्कारको मुख्य छनौट समितिमा पुग्नेछ । त्यहाँबाट पनि छनौट भएमा मात्र ओस्कारको विदेशी भाषी फिल्म पुरस्कारको नोमिनेशनमा पर्नेछ । नेपालको प्रतिनिधित्व गर्ने फिल्म नोमिनेशनमा पर्न सफल होला ? प्रतिक्षाको विषय हुनेछ ।

