पोखरा फिल्म सोसाईटीको दोश्रो साधारण सभा सम्पन्न शनिबार भएको छ । काठमाण्डौं फिल्म सोसाईटी पछि स्थापित नेपालको दोश्रो फिल्म सोसाईटी पोखरा फिल्म सोसाईटीको स्थापना २०६५ सालमा राजेश गोगंजूको नेतृत्वमा भएको हो ।

पोखरा फिल्म सोसाईटी अन्तराष्ट्रिय फेडरेसन अफ फिल्म सोसाईटिजद्धारा मान्यता प्राप्त फेडरेसन अफ फिल्म सोसाईटिज अफ नेपालसँग आवद्ध रहेको छ । प्रमुख अतिथी फेडरेसन अफ फिल्म सोसाईटिज अफ नेपालका अध्यक्ष राजेश गोगंजू र फिल्म निर्माता बिनोद शेरचनको उपस्थितमा सम्पन्न भएको साधारण सभामा फिल्मकर्मी विनोद शेरचनले अहिले नौलो धार भन्दै निर्माण भइरहेका फिल्महरुले वास्तविक नेपालको प्रतिनिधित्व गर्न नसकेको बताए ।
कार्यक्रममा अध्यक्ष राजेश गोगंजूले अन्तराष्ट्रिय फिल्म सोसाइटीको साथै नेपालको फिल्म सोसाइटीको इतिहास र फिल्म सोसाइटीको अवधारणको बारेमा चर्चा गरे । उनले २०६५ सालमा पोखरा फिल्म सोसाइटीको स्थापनाको लागि आउँदा पोखरा ६, ७ जना सदस्य जम्मा गर्न पनि धौ-धौ परेकामा यस साधारण सभामा सयौं सदस्यहरुको उपस्थितीले आफू अत्यन्त खुशी भएको बताए ।

साधारण सभाले घनश्याम लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा जितेश प्रधान, महासचिवमा विष्णु गौतम, सचिवमा राजेन्द्र अधिकारी अपुर्ना, कोषध्यक्षमा दीपक वाँस्तोला, सदस्यहरुमा सरोज सापकोटा, सर्वज्ञमान शाक्य, प्रकाश गुरुङ्, पुजा गुरुङ्, पुष्कर थापामगर, विना विक, महेश भाजु श्रेष्ठ, सागर शाह सर्वसम्मत चयन भएका छन् । निर्वाचन लगत्तै नयाँ कार्यसमितीले भावी योजनाको बारेमा विस्तारित छलफल गरेको थियो ।
कार्यक्रममा पोखरा फिल्म सोसाईटीका सदस्यहरुले निर्माण गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुरस्कृत भएका दुई फिल्म निर्देशक विष्णु गौतम र विकास गुरुङलाई सम्मान गरेको थियो ।

