चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको फिल्म 'ढुवानी'लाई माईती नेपालले ७५ जिल्लामा च्यारिटी गर्ने भएको छ । चेलीबेटी बेचबिखन बिरूद्ध गर्दै आएको माईती नेपालले यो फिल्मको सार्वजनिक प्रदर्शन पश्चात च्यारिटी गर्ने सम्झौता भएको छ ।
आईतवार फिल्म निर्माता कविता श्रेष्ठ र माईती नेपालकी अध्यक्ष अनुराधा कोईराला विच फिल्म किनबेचको सम्झौता भएको छ । 'पैसाको कुरा भएको छैन तर हलमा फिल्म चलिसकेपछि माईती नेपालले देशभर च्यारिटी गर्ने सम्झौता भएको छ,' निर्माता कविताले भनिन्- 'देशभरका जनताले फिल्म हेर्नुपर्छ भन्ने हाम्रो चाहना थियो, पूरा हुने भयो ।' अध्यक्ष कोईरालाले भनिन्- 'हाम्रो चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना अभियानलाई यो फिल्मले सहयोग गर्ने भएकाले च्यारिटी गर्ने निर्णय गरेका हौं ।'
फिल्म ढुवानीमा पिताम्बर पाण्डेको लेखन र निर्देशन छ । फिल्ममा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । फिल्म आउदो भाद्र २८ गते प्रदर्शनमा आउँदै छ ।
कबिता फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म 'ढुवानी'लाई हिन्दी भाषामा डबिङ, अंग्रेजी र अरबिक भाषामा सब टाइटल राखी भारत लगायत खाडीमुलुक साउदी अरब, कतार, दुबइ सहित युके, अमेरिका र अष्ट्रेलिया लगायत करिब १ दर्जन देशहरुमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

