विकास आचार्य निर्देशित फिल्म 'नाइ नभन्नु ल'बाट आशलाग्दी नायिकाको रुपमा रजतपटमा भित्रिएकी ऋचा सिंह ठकुरी विगत ९ महिना देखी फिल्ममा सक्रिय छैनन् । ऋचाले अन्तिम पटक 'अप्स एण्ड डाउन' फिल्ममा टेक दिएकी थिइन् ।
अहिले देश र विदेशका साँस्कृतिक कार्यक्रममा व्यस्त रहेकी ऋचालाई फिल्मीखबरले किन फिल्मबाट टाढा रहनु भएको ? भन्ने जिज्ञासा राखेको थियो । उत्तरमा ऋचाले उल्टो प्रश्न गरिन्- 'फिल्म खेल्नु नै पर्छ र ?' म तिम्रो भईसकें, मन मनै मन पराएँ, मन पराएँ माया लाएँ, धडकन भित्र, नबोलेनी हाँसि राख न सहित आधा दर्जन फिल्म मार्फत दर्शक माझ देखिएकी ऋचालाई फिल्ममा फर्कन नयाँ र पुरानो धारले रोकेको रहेछ ।
ऋचाले आफु नयाँ कि पुरानो धारको कलाकार भन्नेमा दोधारमा रहेको बताइन् । ऋचा सल्लाह दिन्छिन्- 'दुवै धारको विचारको संयोजनले एउटा राम्रो फिल्म निर्माण हुन सक्छ ।' ऋचालाई यो बिचमा फिल्म खेल्ने अफर भने नआएका होइनन् । 'करिब आधा दर्जन फिल्म रिजेक्ट गरें,' ऋचाले सुनाईन्- 'दशैं पछि सेटमा फर्कन्छु होला ।' ऋचा अभिनित अप्स एण्ड डाउन सहित कटेरो र माया गर ल फिल्म प्रदर्शनको पर्खाइमा छन् ।

