चलचित्र विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता हल वर्गीकरण नीति लागु गराउन मोफसल निस्केका छन् । अध्यक्ष मोरवैताले आजबाट विरगञ्ज र धनुषा जिल्लाको यात्रा सुरु गरेका हुन् । यी दुई जिल्लामा करिब दुई दर्जन हल छन् ।
वर्गीकरण नीति बारे विरगञ्ज र धनुषा जिल्लाका हललाई उनले प्रारम्भिक जानकारी गराउनेछन् । नीति लागु गराउन आफै निस्किएको बारे अध्यक्ष मोरवैताले भने- 'बक्स अफिस र हल वर्गीकरण नीति धरान महोत्सव जस्तो नहोस् भन्ने चाहन्छु ।' अध्यक्ष मोरवैता आउने सोमबार राजधानी फर्कनेछन् । अर्को साता भने १५ जनाको टोली हल वर्गीकरण नीति लिएर मोफसल यात्रामा निस्कनेछ ।
त्यस्तै नेपाल सरकारले गर्ने राष्ट्रिय चलचित्र पुरस्कार आयोजना मितिको टुङ्गो एक साता भित्र पक्का हुने मोफसल यात्रामा रहेका वोर्ड अध्यक्षले बताएका छन् । सञ्चार मन्त्रालयले राष्ट्रपतिको समयलाई समन्वय गरिरहेको उनले बताए । अध्यक्ष मोरवैता फिल्म नीति कार्यन्यनको लागी मोफसल दौडाहमा रहेपनि चलचित्र निर्माता संघ र चलचित्र संघ बिच भने बक्स अफिस सर्भर कहाँ राखेर कसरी सञ्चालन गर्ने बारे अन्तिम निर्णय निस्कंन सकेको छैन ।

