सर्ट फिल्म 'मलामी'को निर्माणसँगै निर्देशकको परिचय बनाएका सुवर्ण थापाले गत बर्ष दर्शकमाझ फिचर फिल्म 'सुनगाभा' लिएर आए । समलिंगीको कथालाई पर्दामा उतारेका सुवर्णले पुन: अर्को सर्ट फिल्म बनाएका छन् ।
लामो समयदेखि फ्रान्समा बस्दै आएका सुवर्णले निर्माण तथा निर्देशन गरेको सर्ट फिल्म 'छोरा' हो । फ्रान्समा नै सुटिङ गरिएको यो फिल्मको कथा नेपाली पुरूष र फ्रान्सेली महिलाको सम्बन्धबाट जन्मेको छोरासँग सम्बन्धित छ । आमाले छोरालाई आफ्नै संस्कार दिन खोज्नु र बाबुले छोरालाई नेपाली भाषा सिकाउनु खोज्नु विचको पारिवारिक द्धन्दमा आधारित रहेर 'छोरा' निर्माण गरेको निर्देशक थापाले फिल्मीखबरलाई जानकारी गराए ।

नेपाली र फ्रेन्च भाषामा तयार पारिने २६ मिनेटकोयो सर्ट फिल्मलाई आगामी सेप्टेम्बर महिनामा फ्रान्समा प्रिमियर गरिने सुवर्ण बताउँछन् । 'अर्न्तराष्ट्रिय फेस्टिभल तार्गेट गरेर यो फिल्म तयार पारेको हुँ,' सुवर्णले भने- 'नेपालको फिल्म फेस्टिभलमा पनि यो फिल्म प्रदर्शन गर्ने छु ।' सुनगाभा र मलामीलाई थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा पुर्याएर सफलताको खुड्किलो पार गरेका सुवर्णले छोराबाट पनि सफलता पाउनेमा विश्वस्त रहेको बताए ।

फुलदावा फिल्म्स र अमि फिल्म्सको ज्वाईन भेन्चर फिल्म छोरामा अनुदान, सुवर्ण थापा र नोईमी ड्यालिजको अभिनय हेर्न सकिनेछ । सुवर्णले अक्टुबर महिना भित्रमा फिचर फिल्म निर्देशन गर्ने समेत बताएका छन् । हाल प्रि-प्रोडक्सनमा व्यस्त रहेको बताउने सुवर्णले अब निर्माण गर्ने फिचर फिल्ममा पूर्ण रूपमा नेपाली प्रोडक्सन टिम रहने बताए ।

फिल्मको कन्सेप्ट सार्वजनिक नगरेका सुवर्णले अब भने कमर्सियल फिल्म नै बनाउने सोच राखेको बताए । सुनगाभाबाट व्यवसायिक मुनाफा कमाउन नसके पनि प्रशस्त नाम कमाएका सुवर्णलाई अबको फिल्मबाट नाम र दाम दुवै मिलोस् । शुभकामना !


