एनफडिसी राष्ट्रिय चलचित्र पुरस्कार सकिएको साता बित्न लाग्दा पनि यसको ह्याङ भने सकिएको छैन । अवार्ड आयोजना ताका नै राष्ट्रिय शब्दमा विवाद खेपेको एनफएफडिसीले कार्यक्रमको समापनमा भने चर्को विवाद खेप्नु परेको छ ।
बलिउड निर्माता मुकेश भट्ट आउने ह्विम, अव्यवस्थित व्यवस्थापन र अवार्डमा देखिएको भागबन्डाले एनएफडिसी अवार्ड विवादमा मुछिएको हो । अवार्ड बारे तयार गरिएको भिडियो सामाग्रीलाई चलचित्र विकास कम्पनी प्रमुख तथा टिभी फिल्मीका सञ्चालक उद्धव पौडेलले टेलिभिजिन प्रसारणमा रोक लगाएको चर्चा पछि अवार्डको मूल्य र मान्यता बारे थप विवाद उत्पन्न भएको छ ।
अध्यक्ष पौडेलको बलमा हिजो साँझ साढे ७ बजे कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने साप्ताहिक फिल्मी कार्यक्रम रजतपट कार्यक्रमलाई रोकेको चर्चा छ । आधा घण्टाको कार्यक्रममा ७ मिनेट एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड बारे रिपोर्ट थियो । एनएफडिसीले पर्यटन वोर्डबाट लिएका २५ लाख रुपैयाँ, उदित नारायण झा दम्पतीलाई मुम्बईबाट पर्यटन वोर्डले झिकाएको प्रसंग, अवार्ड लिएर राष्ट्रपती र प्रधानमन्त्री कार्यालयमा अवार्ड देखाउन गएको र अवार्डमा देखिएको कमिकमजोरी रिपोर्टमा उल्लेख थियो ।
रजतपटको कान्तिपुर टेलिभिजनको सेन्सर शाखामा रजतपट सेन्सर भैसकेको थियो । कार्यक्रमका निर्माता, निर्देशक तथा प्रस्तोता प्रकाश सुवेदीले भने माथिको आदेशमा प्रसारण रोकिएको जानकारी आफुलाई प्राप्त भएको भनाई सार्वजनिक गरेका छन् ।

