दिर्घ गुरूङ, सायद अहिलेको नयाँ पुस्ता फिल्मकर्मीले सायदै नाम कम सुनेका होलन् । छायाँकारमा आफ्नो छुट्टै स्थान बनाएका दिर्घ पछिल्लो समय फिल्ममा खासै व्यस्त छैनन् । खासकुरा उनी फिल्ममा भन्दा विज्ञापनको छायाँकनमा नै बढि व्यस्त छन् ।
२०४३ सालमा लाईट म्यानको पेशा अंगालेर फिल्म क्षेत्रमा प्रवेश गरेका दिर्घले करिब छ बर्ष लाईट म्यान र स्टिल क्यामेरा चलाए पश्चात असिस्टेन्ट क्यामेरा म्यानको जिम्वेवारी सम्हाल्दै 'घामछायाँ' फिल्म खिच्ने मौका पाए । क्यामेरा सम्बन्धि कुनै पनि कोर्ष नगरेका दिर्घलाई मञ्जु कुमार श्रेष्ठ, श्याम मोहन प्रधान, गौरी शंकर धुँजु, नरेन्द्र प्रधान जस्ता कुशल छायाँकारले आफ्नो चेला बनाए । तिनै कुशल छायाँकारका चेला दिर्घ अहिले निकै महंगो र कुशल क्यामेरा म्यानको रूपमा चिनिन्छन् ।

मुग्लान, गोधुंली, घुम्टो, पिंजडा, सन्तानको माया, बन्धकी, मौसम, देवर बाबु जस्ता फिल्म खिचेका दिर्घले पछिल्लो पटक खिचेको फिल्म भने काठमाण्डू हो । तनहुँको कोत्रेमा जन्मेका दिर्घले यिनै फिल्मबाट थुप्रै अवार्ड पनि पाए । चार बर्ष अघि काठमाण्डू फिल्म मार्फत पहिलो पटक रेड क्यामेरा चलाएका दिर्घ अहिले फिल्म खिच्न त्यति रूचि राख्दैनन् । 'फिल्ममा भन्दा बिज्ञापनमा काम गर्न सजिलो हुन्छ, आजभोली फिल्ममा कम देखिनुको कारण बारे दिर्घ भन्छन्- 'पैसा पनि कम पाईने अनि समय पनि धेरै दिनुपर्ने भएकाले फिल्ममा भन्दा बढि रूची विज्ञापनमा भएको हो ।'
दिर्घ चार बर्ष पछि रमित ढुंगानाले निर्माण शुरू गरेको फिल्म 'बुद्ध बर्न इन नेपाल'लाई खिच्न व्यस्त छन् । लुम्बिनीमा दुई दिनको सुटिङ गरिएको यो फिल्मको भोली बिहिबारबाट राजधानीमा सुटिङ गरिंदै छ । 'खासै फुर्सद त थिएन तर टिम राम्रो भएकाले टाईम मिलाएर फिल्म खिच्न तयार भएको हुँ,' दिर्घले भने- 'नाम कमाउन फिल्ममा आएँ अब दाम कमाउन विज्ञापनको क्षेत्रमा व्यस्त छु ।'

