जब फिल्ममा अभिनय गर्ने अभिनेता र अभिनेत्रीको जोडी जम्छ तब मात्र उनीहरूको चर्चा हुन्छ अनि फिल्म पनि सफल हुन्छ । नेपाली रजतपटमा केहि यस्ता अनस्क्रिन जोडी छन् जो दर्शकले अहिले पनि त्यो जोडीलाई सम्झिरहन्छन् र पुन: पर्दामा हेर्न चाहन्छन् । नेपाली रजतपटमा हिट मानिएका फिल्मका हिट जोडी बारे फिल्मखबरले संक्षेप चर्चा गरेको छ । आफ्नो समयमा हिट मानिएका जोडीको लिस्टमा नयाँ देखी पुराना सम्म समावेश छन् ।
राजेश हमाल र करिश्मा मानन्धर :
कृष्टी मैनाली र मौसमी मल्लसँग बाँधिएको अभिनेता राजेश हमालको जोडी अभिनेत्री करिश्मा मानन्धर सम्म आइपुग्दा भने हिट बन्न पुग्यो । यो जोडीको क्यामेस्ट्रीलाई दर्शकले औधी रुचाए । राजेश र करिश्मा अभिनित दर्जनौं फिल्मलाई दर्शकले अत्याधिक मन पराएको पाइयो । रिलमा रुचाइएको राजेश र करिश्माको जोडीलाई दर्शकले रियल लाइफमा पनि सँगै हेर्न चाहन्थे । तर, करिश्माले निर्माता विनोद मानन्धरसँग लगनगाँठो कसेपछि दर्शक चाहना चाहनामै सिमित भयो ।
.jpg)
अभिनेता हमालले भने यही साल आफु भन्दा झण्डै आधा उमेर कान्छि प्रेमिका मधु भट्टराईसँग घरजम गर्ने बताउँदै आएका छन् । एक दशक बढी पर्दामा सक्रिय रुपमा जमेको राजेश र करिश्माको अहिले पनि उत्तिकै चर्चा हुने गरको पाइन्छ । यस्तै राजेश र रेखा थापाको पनि जोडी कुनै बेला जमेकै थियो तर पनि दर्शकले अझै पनि राजेश र करिश्माकै जोडी उत्कृष्ट मान्ने गर्दछन् । पहिल्लो समय राजेश र करिश्मा फिल्म किन किनमा सँगै देखिएका छन् । किन किन प्रदर्शनको पर्खाइमा छ ।
भुवन केसी र तृप्ती नाडकर :
.jpg)
अभिनेता भुवन केसी र तृप्ती नाडकरको जोडी पनि कुनै बेला अत्याधिक रूचाईएको थियो । भुवन र तृप्ती अभिनित फिल्म कुसुमे रुमालले नेपाली फिल्म बजारमा एक सय दिन मनाउन सफल भएको थियो । त्यसपछि भुवन र तृप्ती दुनियाँ नामक फिल्ममा प्रस्तुत भए । तृप्तीसँगै अभिनेता केसीको जोडी सुस्मिता वम्जनसँग राम्रै जम्यो । भुवन र सुस्मिता जोडी भएको फिल्म करोडपति र म तिमी बिना मरिहाल्छु सुपरहिट बन्यो । पर्दामा सुपहिट भुवन र सुस्मिता वास्तविक जीवनमा भने असफल जोडीमा काउन्ट भए ।
श्रीकृष्ण श्रेष्ठ र झरना थापा :

रजतपटको हिट जोडीमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापा पनि काउन्ट हुन्छन् । यो जोडी अभिनित फिल्म सुख दु:ख, ए मेरो हजुर लगायत दर्जन फिल्म सुपरहिटको लिस्टमा पर्न आउँछन् । पछिल्लो पटक हिट फिल्म हामी तीन भाई दिएको यो जोडी सम्भवतः आगामी दिनमा दोहोरिने छैन् । श्रीकृष्णले कहाँ भेटिएलाबाट श्वेता खड्कालाई जोडी बनाएका छन् । ब्लकबस्टर फिल्म कहाँ भेटिएलामा श्री र श्वेताको जोडीलाई दर्शकले रुचाए । अब भने कोहिनुर मार्फत यो जोडी दर्शक सामु आउँदैछ । श्री र श्वेता रियल लाईफ मै जोडी भएर प्रस्तुत हुने पनि धेरैको अड्कल छ । अभिनेत्री थापा भने पछिल्लो पटक नायक सुमन सिंहसँग देखिन थालेकी छिन् । यद्पी झरना र सुमनको जोडीले रजतपटमा कुनै जादु छर्न सकेको छैन ।
दिलिप रायमाझी र निरुता सिंह :

नेपाली रजतपटमा दिलिप र निरुताको जोडीले राम्रो चर्चा कमायो । यो जोडी अभिनिति फिल्म दर्पण छायाँ दर्शक माझ अत्याधिक हिट बन्यो । दिलिप र निरुताको फिल्म बन्धकी पनि रजतपटमा सफल भयो । दर्जन फिल्ममा सँगै देखिएका निरुता र दिलिपको जोडी अहिले भने पर्दामा सक्रिय छैन । दिलिप पछिल्लो पटक होम प्रोडक्सनको फिल्म मिस युमा नम्रता श्रेष्ठसँग देखिए भने निरुता केही वर्ष गृह थलो सिक्किममा छिन् ।
राजबल्लभ कोइराला र युना उप्रेती :
.jpg)
नयाँ पुस्तामा राजबल्लभ कोइराला र युना उप्रेतीको जोडी पर्दामा हिट मानियो । यो जोडीको डेव्यु फिल्म पर्खि बसेंलाई नयाँ पुस्ताका दर्शकले अत्याधिक रुचाए । पर्खि बसें पछि राज र युना फिल्म पहिलो पहिलो माया र सम्झी दिए पुग्छमा सँगै देखिए । राज पछिल्लो पटक रेखा थापा, निशा अधिकारी र गरिमा पन्तसँग देखिन थालेका छन् भने युना फिल्ममा करिअर नदेखेपछि अमेरिका उडेकी छिन् । यस्तै स्वर फिल्ममा राज र केकी अधिकारीको जोडी पनि जमेकै थियो । प्रशन्न पौडेलले पुन: राज र केकीलाई पर्दामा उतार्ने जमर्को गरिरहेका छन् ।
आर्यन सिग्देल र नम्रता श्रेष्ठ :

राजबल्लभ र युना जस्तै अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ जोडि भएको पहिलो फिल्मबाटै दर्शकको मनमा बस्न सफल भए । आर्यन र नम्रताको फिल्म मेरो एउटा साथी छ व्यावसायिक रुपमा मध्यम मानिए पनि उनीहरुको जोडी भने सर्वत्र हिट बन्यो । मेरो एउटा साथी छ पछि आर्यन र नम्रता सँगै देखिएका छैनन् । सम्भवतः अभिनेता सिग्देलकै प्रोजेक्ट नोभेम्वर रेनमा आर्यन नम्रतालाई देख्न पाइनेछ । यता कलिउड फिल्ममा आर्यनले नव प्रवेशी नायिका प्रियंका कार्कीसँग पनि खासै जोडी जमाउन सकेनन् । बरू आर्यन र रेखा थापाको जोडी किस्मत, हिफाजत र कस्ले चोर्यो मेरो मनमा निकै जमेको थियो ।
कर्म शाक्य र निशा अधिकारी :

फिल्म फस्ट लभमा कर्म शाक्य र अभिनेत्री निशा अधिकारीको इमोश्नल लभ रिलेशनलाई दर्शकले मन पराए । यद्पी यो जोडी दोस्रो प्रोजेक्टमा दोहोरिएको छैन । फस्ट लभ रिलिज ताका कर्म र निशा प्रेममा रहेको भन्ने चर्चा थियो । सानो संसारमा नम्रतासँग जमेको कर्मको जोडी अन्य नायिकासँग भने खासै जमेको छैन । यता नैना रेशममा बिराज भट्टसँग निशाको जोडी जम्यो । त्यसपश्चात लेज्बियन भुमिकामा प्रस्तुत भएर निशाले दिया मास्केसँग आफ्नो जोडी जमाईन् । यस्तै निशाले धुँवा यो नशामा आर्यनसँग जोडी जमाउन प्रयास गरिन् तर फिल्मले सफलता नपाएपछि यो जोडी पनि खासै सफल हुन सकेन ।
जीवन लुइँटेल र ऋचा सिंह ठकुरी :

अभिनेता जीवन लुइँटेलको जोडी नायिका ऋचा सिंह ठकुरीसँग जमेको फिल्मकर्मीको विश्लेषण छ । जीवन र ऋचाको पहिलो फिल्म नाइ नभन्नु ल रजतपटमा हिट लिस्टमा पर्यो । जीवन र ऋचालाई चिनाउने फिल्म पनि यहि नै बन्यो । फिल्म नाइ नभन्नु ल होस् या म तिम्रो भईसके जीवन र ऋचाको जोडीलाई दर्शकले राम्रै क्रेडिट दिए । यो वर्षका अवार्ड समारोहमा उत्कृष्ट अभिनेताको अवार्डमा ह्याट्रिक हानेका जीवन पछिल्लो पटक भने श्वेता भट्टराई, सुष्मा कार्कीसँग देखिन थालेका छन् । फिल्म नोटबुकमा जीवन र अभिनेत्री निता ढुङ्गानाको जोडीलाई पनि दर्शकले रुचाएको पाइयो ।
रेखा थापा आफैं हिट, सबैसँग फिट

फिल्मकर्मी भन्छन्- 'अभिनेत्री रेखा थापा हिरो हुन् । रेखाको फिल्ममा हिरो नभए हुन्छ ।' नारी प्रधान फिल्ममा हिरो भएर प्रस्तुत हुने रेखाको जोडी भने अभिनेता राजेश हमाल देखि नवनायक नरेन खड्का सम्म जमेको देखिन्छ । डेव्यु फिल्म हिरोमा राजेश हमाल सम्म नाचेकी रेखा पछिल्लो पटक रिलिज फिल्म हमेशामा भने सविन श्रेष्ठ र नरेनसँग देखिइन् । अभिनेता विराज भट्ट, निखिल उप्रेती, रमित ढुङ्गानासँग पनि रेखाको जोडी उत्तिकै जम्यो । रेखाका विराज र निखिलसँग एक दर्जन फिल्म सफल छन् भने रमितसँग धड्कन, हिम्मत, देवरबाबु जस्ता सफल छन् ।

आपसी सम्बन्ध जे जस्तो भएपनि अभिनेत्री थापाको जोडी अभिनेता आर्यन सिग्देलसँग अन्य नायक भन्दा राम्रो जम्यो । यो जोडी अभिनित फिल्म किस्मत, हिफाजत र कस्ले चोर्यो मेरो मनलाई दर्शकले अत्याधिक रुचाए । आर्यन पछि रेखाको जोडी अभिनेता जीवन लुइँटेलसँग जमेको पाइन्छ । नसिब आफ्नोबाट सुरु भएको रेखा र जीवनको जोडी जब जब माया बस्छ, अन्दाज र मालतीको भट्टी सम्म आइपुग्दा हिट बन्न पुग्यो । यो जोडी अभिनित फिल्म जाउँ हिंड पोखरा प्रदर्शनको पर्खाइमा छ । पछिल्लो सयम भने रेखाको जोडी किशोर खतिवडासँग बाँधिन थालेको छ । रेखा र किशोरको जोडी रावण, लंकादेखी काली सम्म आइपुगेको छ । यस अघिका प्रोजेक्टमा सफल देखिएको रेखा र किशोरको जोडीले फिल्म कालीलाई कुन रुप दिन्छ ? असोज २५ सम्म प्रतिक्षा गर्रौ ।

रिल हुँदै रियल जोडी अभिनेता कृष्ण मल्ल र अभिनेत्री सर्मिला मल्लको वैवाहिक जीवन अभिनय यात्राबाट प्रारम्भ भएको हो । त्यस्तै करिब एक दर्जन फिल्ममा सँगै देखिएका निखिल उप्रेती र संचिता लुइँटेल पनि केही वर्ष अघि लगनगाँठो कसे । यो जोडी अनस्क्रिन र अफस्क्रिन दुबै स्थानमा चर्चित बन्यो । उनीहरुको अहिले एक छोरा र एक छोरी छन् । अभिनेत्री मेलिना मानन्धर र मुकेश ढकालको पनि रिलबाटै रियल जोडी बन्यो । एक छोरीका दम्पती मेलिना र मुकेशको एक भोजपुरी फिल्मको सुटिङ्मा माया बसेको थियो ।

