Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

निलिमाको नजर : रेड कार्पेटमा उत्कृष्ट पाँच सेलिब्रेटी

फिल्मीखबर, काठमाण्डौ, 2013/07/23

हलिउड र बलिउड रेड कार्पेट वाकमा सेलिव्रेटीसँगै उनीहरुले पहिरिएको पोशाक प्रत्यक्ष रुपमा जोडिएर आउँछ । सेलिव्रेटी र पोशाक प्रति सबैको चासो र उत्सुकता रहन्छ । विशेष अवसरमा सेलिव्रेटीका पहिरनको चर्चासँग फेशन डिजाइनरको पनि चर्चा हुने गर्दछ । यो नै अर्न्तराष्ट्रिय जगतमा फेसन डिजाइनरहरुले पाउने गतिलो प्लेटफर्म हो ।


हालै भएको एनएफडिसी राष्ट्रिय चलचित्र अवार्डमा पनि नेपाली सेलिव्रेटीले रेड कार्पेट वाक गरे । भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा जतिले रेड कार्पेट वाक गरे, त्यसलाई आधार मान्दै फेसन स्टाईलिस्ट निलिमा शर्माले टप फाईभ रेड कार्पेट वेस्ट ड्रेस सेलिव्रेटी छुट्याएकी छिन् । उनले निकालेका उत्कृष्ट पाँच रेड कार्पेट वेस्ट ड्रेस सेलिव्रेटीको नाम यस प्रकार छन् -


१.करिश्मा मानन्धर, अभिनेत्री


एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रमको स्लोगन थियो 'हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलीलाई उत्थान' । करिश्माले पहिरिएको रातो सारीले नेपाली फिल्मकर्मी प्रति अझ बढी सम्मान दिएको जस्तो महसुश भयो । पहिरन जुन मेरो विधा हो, त्यसबाट कतै न कतै राष्ट्रलाई सम्मान होस् भन्ने मेरो मान्यता थियो । हरेक पटक विभिन्न पहिरनमा सुन्दर देखिनु मात्रै ठुलो कुरा होइन । तर, जब व्यक्ति कार्यक्रमको उद्धेश्य अनुरुप सिङ्गारिन्छ त्यो नै पहिलो सुन्दरता हो । जुन प्रथम सुन्दरता सुन्दरी नायिका करिश्मा मानन्धरको रातो सारीले झल्काएको थियो । उनी प्रायः गाउनमा सजिने गर्दथिन् । नेपाली फिल्मले ५० वर्ष पुरा गरेको अवसरमा आयोजना गरिएको अवार्ड फङ्सनमा रातो सारी पहिरएर कार्यक्रमको बढी सम्मान बढाई दिएकोमा अभिनेत्री करिश्मा मानन्धरलाई मैले नम्बर १ स्थानमा राखेको हुं ।


२.झरना थापा, अभिनेत्री


रेड कार्पेटमा गुलाबी नेटको इम्ब्रोइडरी गरिएको सारीमा झरना निकै सुन्दर देखिएकी थिइन् । पूरै इम्ब्रोइडरी गरिएको सारीमा झरना यसरी प्रस्तुत भइन् कि सायद यसअघि उनी कम सुन्दर लाग्थिन् । उनको पहिरनमा हेयर स्टाईल पनि म्याच भएको थियो । झरनाले लगाएको ज्वेलरीले पनि पहिरनलाई निकै साथ दिएको थियो । आकर्षक पहिरनका साथ आत्मविश्वासले रेड कार्पेट वाक गर्दा झरना दुई नम्बरमा पर्न सफल भइन् ।


३.नन्दिता केसी,अभिनेत्री


भेल्भेटको सारीमा नन्दिता निकै खुलेकी थिइन् । ब्लाउजको इम्ब्रोइडरीले रेड कार्पेटमा नन्दिता एकदमै रोयल देखिएकी थिइन् । विशेषतः उनको पोशाकको कलर कम्बिनेशन निकै मिलेको थियो । रेड कार्पेट वाकमा पहिरनले मात्रै साथ दिएर पुग्दैन । पोशाकसँगै हेयर स्टाईल, मेकअप र पहिरन क्यारी गर्न सक्ने क्षमता हुनुपर्दछ । पोशाक, हेयर स्टाइल, मेकअप र पोशाक क्यारी गर्न सक्ने क्षमताले नन्दिता वेस्ट रेड कार्पेट वाकको तेस्रो स्थानमा पर्न आइन् । तर, नन्दिताले हातमा बोकेको क्लच भने पोशाकसँग म्याचिङ थिएन ।


४.अनिसा थापा


कार्यक्रममा निर्देशक निरक पौडेलकी श्रीमती अनिशा थापा अपरिचि थिइन् । तर, निलो रङ्को गाउनले सबैको नजर अनिशा तर्फ केन्द्रित गर्यो । सिम्पल र थिम फलो गर्नु नै गाउनको उत्कृष्ट पक्ष थियो । गोल्डेन टच दिइएको गाउन आँखा नबिझाउने किसिमको थियो । जो डिजाइनरले यो गाउन तयार पार्नु भयो उहाँ बधाईको पात्र हुनुहुन्छ ।

 

५.प्रियंका कार्की


प्रियंकाले पहिरिएको सारी र ब्लाउज कन्ट्रास्ट कलरमा छ । ब्लाउजको डिजाईन कलर र काम मन पर्ने किसिमको छ । यद्पी, सारीको रङ पहेंलोको सट्टा अन्य नै भैदिंदा प्रियंका अझै सुन्दर देखिन सक्थिन् । प्रियंकाको कम्प्लेक्सन अनुसारको कलर सारीको नभएपनि जुन आत्मविश्वासका साथ उनले सारीलाई क्यारी गरिन् यही आधारमा उनी रेड कार्पेट वेस्ट वाकको ५ नम्बरमा पर्न सक्षम छिन् । सुहाउँदो पहिरनलाई मात्रै क्यारी गर्न सक्ने क्षमता धेरैमा हुन सक्छ । तर, अमिल्दो पहिरनलाई पनि मिलेको झै गरी देखाउन सक्ने क्षमता कमैमा मात्र हुन्छ ।


अन्त्यमा, जसरी यहाँ उत्कृष्ट पाँचको नामावली प्रस्तुत गरिएको छ, त्यसैगरी आगामी दिनमा हुने रेड कार्पेट फङ्सनमा उत्कृष्ट २० को नामावली प्रस्तुत गर्ने अवसर मिल्नेछ । जसरी उत्कृष्ट पाँचको नाम निकाल्न सहज भयो त्यसरी नै अन्य रेड कार्पेट वाक फङ्सनमा उत्कृष्ट २० को नामावली प्रस्तुत गर्न त्यती नै गाह्रो हुनेछ भन्ने अपेक्षा छ ।