आज गुरु पूर्णिमा । आफ्ना गुरुप्रती सम्मान दर्शाउने दिन । यो सनातन परम्परा हो । नेपाली रजतपटमा सफलताको सिंढी पार गरेका र सिंढी उक्लंदै गरेका फिल्मकर्मी, कसलाई आफ्नो गुरु मान्छन् ? र, आज कसरी गुरुलाई सम्झदै छन् ? केही फिल्मकर्मीको कुरा सुनौ -
बसुन्धरा भुषाल, अभिनेत्री
अभिनय सिकाउने बालकृष्ण सम र कृष्णप्रसाद रिमाल मेरा गुरु हुनुहुन्छ । नाच्न भने तारा शर्मा र राधा श्रेष्ठ गुरुले सिकाउनु भएको हो । म उहाँहरूकै मार्ग दर्शनमा यात्रा गर्दै छु । उहाँहरुको आर्शिवाद बाँचुज्जेल छ । उहाँहरु प्रति मेरो सम्मान पनि बाँचुञ्जेल हुन्छ ।
राजेन्द्र खड्गी, द्धन्द्ध निर्देशक
मेरो यो क्षेत्रको गुरु स्व.गोपाल भुटानी हुनुहुन्छ । उहाँले नै मलाई फाईट सिकाउनु भएको हो । बिहान स्वयम्भू गएर उहाँको नाममा पानी चढाएँ र बत्ति बालें । मैले उहाँसँग यही क्षेत्रमा निरञ्तर काम गरिरहन पाऊँ भनी आर्शिवाद मागे ।
रेखा थापा, अभिनेत्री
फिल्ममा व्रेक दिने निर्देशक नरेश पौडेल र निर्माता छविराज ओझा मेरो गुरु हुनुहुन्छ । वर्तमानमा मैले जुन कर्म गर्दैछु, यसको श्रेय उहाँहरुलाई जान्छ । नरेश सर र छवि (ड्याडी) आज मात्रै नभएर हरेक दिन मेरो सम्मानको पात्र हुनुहुन्छ । गुरु पूर्णिमाको दिनमा मैले उहाँहरु दुवैसँग फिल्म कालीको भव्य सफलताको लागी आर्शिवाद मागेको छु । हेर्रौ के हुन्छ ?
.jpg)
सौगात मल्ल, अभिनेता
अभिनयको कला सिकाउने सुनिल पोखरेल, आकाश अधिकारी, बिरेन्द्र हमाल र अनुप बराल मेरो श्रदय गुरु हुनुहुन्छ । सम्भवः भ्याएसम्म आज सबैलाई भेटेर आर्शिवाद लिने योजना छ । गुरुलाई मिठाई र फलफूल दिन्छु ।
नम्रता श्रेष्ठ, अभिनेत्री
निर्देशक आलोक नेम्वाङलाई मेरो फिल्मी करिअरको गुरु मान्छु । उहाँले मलाई सानो संसारमा व्रेक दिनु भएको हो । हरेक काम गर्दा सल्लाह लिन्छु । साथमा किस्ट कलेजको प्रिन्सीपल रामप्रसाद दाहाल पनि मेरो हरेक योजनामा साथ दिने गुरु हुनुहुन्छ । बिहानै उहाँहरु दुवै गुरुबाट फोनमा आर्शिवाद लिइसकें ।
प्रियंका कार्की, अभिनेत्री
मेरो मोडलिङ करिअरको प्रेरणादायी व्यक्तित्व सञ्चारकर्मी एवम् निर्देशक भूषण दाहाल हुनुहुन्छ । उहाँले मलाई मोडलिङ्मा आउन धेरै नै सहयोग र साथ दिनुभएको छ । आज एकदिन भन्दा पनि हरेक योजनामा म उहाँको सल्लाह लिने गरेको छु । मेरो करिअरको एक मात्र गुरु भुषण दाहाल नै हुनुहुन्छ ।

