अभिनेत्री निशा अधिकारीलाई नेपाल सरकारले सफल सगरमाथा आरोहणको प्रमाण पत्र प्रदान गरेको छ । पाल्पा जन्मथलो भएकी निशाले सेभेन समिट चाईनीज एभरेष्ट एक्सपीडिशन २०१३ स्प्रिङ नामक पर्वतारोहण दलको गाईड (भरिया)को हैसियतमा सगरमाथा चढेको भनी प्रमाण पत्र पाएकी हुन् ।
नेपाल सरकार अर्न्तगतको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभिनेत्री अधिकारीलाई उक्त प्रमाण पत्र प्रदान गरेको हो । निशासँगै अभिनेता अर्जुन कार्कीलाई पनि मन्त्रालयले पनि सफल सगरमाथा आरोहणको प्रमाण पत्र प्रदान गरेको छ । अभिनेता कार्कीको दुवै खुट्टाका औंला काटिएका छन् । उनको उपचारको लागी चलचित्र विकास वोर्डले दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
सगरमाथा आरोहणबाट फर्किएको एक महिना नबित्दै निशा फिल्मको लागी फ्लोरमा छिरेकी छिन् । नवल खड्काले निर्माण गर्दै गरेको फिल्म भिमदत्तमा निशाले एक अनुसन्धानकर्ताको भुमिका प्ले गरिरहेकी छिन् । एनएफडिसी अवार्डमा उत्कृष्ट अभिनेत्रीको नोमिनेशनमा पर्न सफल निशाले गरेको सगरमाथा आरोहणको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेका थिए ।

नेपाल सरकार अर्न्तगतको मन्त्रालयले नै सफल सगरमाथा आरोहणको प्रमाण पत्र थमाएपछि निशाले अब भने ८ हजार ८ सय ४८ मिटरको हिमाल चढिन् भनेर पत्याउन करै लागेको छ ।

