हिन्दु नारी विशेष तीज पर्वमा दुई नेपाली रिलिज हुनेछन् । फिल्म वीर र जंजीरले भदौ २१ लाई आफ्नो प्रदर्शन मिति तय गरेका हुन् । यी दुवै फिल्मको वितरण जिम्मा सुनिल मानन्धरले लिएका छन् । तीजको मितिमा रिलिज हुने भनिएका माई प्रमिस र तुलसी भने उक्त मितिबाट हात झिकेका छन् ।
वीर

अभिनेत्री रेखा थापा र यश कुमार प्रमुख भुमिका रहेको फिल्म वीरले लभ रिभेञ्जको स्टोरीलाई मुख्य प्लट बनाएको छ । बाटोमुनिको फुल जोडी रेखा र यशको वीर दोस्रो पटक सँगै काम गरेको प्रोजेक्ट हो । वीर पुरै समय कथा काली रेखाकै वरीपरी घुम्ने बताइएको छ । फिल्म नारी प्रधान भएकाले पनि तीजमा रिलिज गर्न लागिएको निर्माता प्रविण शाहले बताए । उनले भने- 'नारीको कथा भएकाले पनि फिल्मलाई दर्शकले मन पराउने आशा राखेको छु ।' उनले केही सातामै फिल्मको प्रचारमा मिडियामा आउने जानकारी दिए । फिल्ममा सौरभ लामाको सिनेम्याटोग्राफी र सुरेश अधिकारीको संगीत छ ।
जञ्जीर
.jpg)
फिल्म जञ्जीरको 'किन प्यारो प्यारो लाग्छ...' बोलको गीत फिल्मकर्मी माझ हिट बन्दै गैरहेको छ । गीतका संगीतकार टंक बुढाथोकी हुन् भने प्रस्तुतकर्ता करण क्रेजी हुन् । गीतकै कारण दर्शक बढ्ने अपेक्षा गरिएको जञ्जीरमा एक्सनसँगै कमेडीको पनि समिश्रण पाइनेछ । शोभित बस्नेत निर्देशित फिल्ममा जयकिसन बस्नेत, हर्षिका श्रेष्ठ, सुस्मिता शाही लगायतका कलाकारको अभिनय छ । गणेश कुमार श्रेष्ठको छायाँकन रहेको फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ ।
उसो नेपाली फिल्मलाई नयाँ वर्ष, चाड पर्व र सार्वजनिक बिदाले व्यापारमा खासै असर पारेको देखिदैन । बिदामा रिलिज भएका कुनै पनि फिल्मले व्यापारमा उधुम मच्चाउन सकेका छैनन् । तीजको दर खान आएका वीर र जञ्जीरले कस्तो व्यापार गर्छन् ? हलमा दर्शकको उपस्थितिले निर्धारण गर्नेछ ।

