वर्तमान फिल्म बजारलाई सुधार गर्ने नीतिका रुपमा हेरिएको बक्स अफिस प्रणाली, फिल्म तथा हल वर्गीकरणको नीति साउन १ गतेबाट लागु भएको छ । देशका सम्पूर्ण हलमा ९ महिना भित्र बक्स अफिस प्रणाली लागु गर्ने संघसंस्था बिच सहमती भएको छ ।
चलचित्र निर्माता संघ र चलचित्र संघ बिचको रहोवरमा सञ्चालन हुने बक्स अफिस प्रणालीले विशेषतः निर्मातालाई राहत पुर्याउने आशा लिइएको छ । वितरक तथा हलवालाबाट ठगिने गरेको भनिएका निर्माता चाहि वर्गीकरण तथा बक्स अफिस प्रणाली लागु भएपछि कस्तो अपेक्षा राख्छन् त ? फिल्मीखबरले केही निर्मातासँग प्रतिक्रिया लिएको छ -
.jpg)
CMS CInema Management System Model
विकास आचार्य
बजार तथा संस्थागत विकासको लागी बक्स अफिस प्रणाली आवश्यक छ । कार्यान्वयन पक्षमा केही कठिनाइ देखिए पनि नीति लागु भएर बाटो खन्ने काम भएको छ । यो फिल्म बजारको लागी सकारात्मक पक्ष हो । यस्ले निर्मातालाई राहत पुर्याउँछ भन्ने आशा छ ।
सुनिल मानन्धर
बक्स अफिस प्रणाली प्रयोगमा आएपछि निर्माताले आफ्नो हिसाब लिन वितरकलाई कुर्नु पर्दैन । हलमा भएको फिल्मको व्यापार ढाँट्ने र छल्ने प्रवृत्तीको अन्त्य हुन्छ । हलबाट सही रिपोर्ट आएपछि फिल्म निर्माणको क्रम पनि घट्छ र राम्रा मात्रै फिल्म बन्छन् । तर, यो प्रणाली लागु हुन्छ भन्ने विश्वास गरिहाल्ने ठाउँ चाहि कम छ ।
माधव वाग्ले
कार्यान्वयन भयो भने सबैको हित हुन्छ । तर, देशको परिस्थित हेर्दा तत्काल यो नीति प्रयोगमा आउँछ जस्तो लाग्दैन । कार्यान्वयनका दुई मुख्य निर्माता र चलचित्र संघ बीच नै सहमती हुन सकेको छैन । त्यसकारण यो नीति कार्यन्वयन हुने कुरामा शंका छ ।
कल्याण घिमिरे
बक्स अफिस प्रणाली लागु हुनु भनेको हामी निर्माताको लागी खुसीको कुरो हो । यस्ले चुरोटको खोलमा हिसाब दिने प्रणालीको अन्त्य गर्छ भन्ने आशा छ । तर, नेपालमा नीति नियम त धेरै बनेका छन्, कार्यन्वयन कसरी हुन्छ त्यसमा फरक पर्छ ।
ज्योतीराज राई
फिल्म क्षेत्रको नकारात्मक पाटोलाई यो प्रणालीले हटाउछ भन्ने विश्वास छ । तर, यस्को प्रयोग कसरी हुन्छ त्यसमा भर पर्छ ।
प्रज्ञा जोशी
बक्स अफिस प्रणालीले निर्मातालाई राहत पुर्याउने आशा लिएको छु । यसको कार्यान्वयनको लागी हामी आफैं पनि लागी परेका छौं । आशा गर्रौ यो प्रणालीले फिल्म क्षेत्रको हित हुनेछ ।

