पछिल्लो समय फिल्मको पर्दाबाट टाढा रहेकी अभिनेत्री नन्दिता केसीले फिल्मको पर्दामा भन्दा स्टेजमा डान्स गर्दा बढि इनर्जी आउने बताईन् । एक महिने युरोप टुरका लागि हाल डान्सको प्रशिक्षण लिईरहेकी नन्दिताले दर्शकको ताली र हुटिङले नै इनर्जी उत्पन्न फिल्मीखबरलाई बताईन् ।
कुपन्डोलमा करियोग्राफर रेनशा राईसँग आधा दर्जन गीतमा डान्स गर्न प्राक्टिस गरिरहेकी नन्दिताले दर्शकसँग प्रत्यक्ष सहभागी भएर प्रस्तुती दिन पाउँदा आनन्द आउने बताउँछिन् । 'फिल्मको पर्दामा दर्शकसँग प्रत्यक्ष भेट हुन सकिंदैन त्यसैले स्टेजमा दर्शककै अगाडी नाच्दा निकै रमाईलो लाग्छ,' नन्दिताले भनिन्- 'कतिपय देशमा त दर्शकको उल्लेख्य साथ पाउँदा बलिउडकै शोमा नाचेको जस्तो अनुभव हुन्छ ।'
नन्दितासँगै युरोप टुरमा जाने तयारी गरेकी अर्की अभिनेत्री गरिमा पन्तले अनुशासनबाट बाहिर नगई दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्न स्टेजमा उत्रने बताईन् । 'बिदेशमा गएपछि जे पनि गर्न पाईन्छ भन्ने सोच्छन्,' गरिमा भन्छिन्- 'हामी हाम्रो र नेपालीको इज्जत राख्न जहाँ गएपनि अनुशासनमा बसेर नै आफ्नो प्रस्तुती दिन्छौं ।' अनुशासनमा बसेर स्टेज तताउँदा आफूलाई पनि आत्मसन्तुष्टी हुने गरिमाको भनाई छ ।
.jpg)
सबै वर्गका दर्शक लक्षित गरेर नन्दिता र गरिमाले स्टेजका लागि पुराना देखि नयाँ डान्सिङ नम्बरका गीत छनोट गरेका छन् । पार्टी फिएस्टाले आयोजना गरेको एक महिने युरोप टुरका क्रममा नन्दिताले माईतिघर, चौबन्दी चोली, उध्रेको चोली सहित तीजका गीतमा आफ्नो बारूले कम्मर मर्काउने छिन् । यस्तै गरिमाले बनमा फूल्यो फुलै फूल, रेलि खोला बगर, हुर्केको मेरो जोवन सहित तीजका गीतमा उपस्थित दर्शकलाई आफ्नो जवानीको तरंगले तताउने छिन् ।
बेल्जियममा पहिलो प्रस्तुती रहने जानकारी दिएकी नन्दिताले त्यसपश्चात जर्मनी, पोर्चुगल, फ्रान्स, स्पेन, पोल्याण्ड, स्विटजरल्याण्ड लगायतका देशका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न स्टेजमा उत्रने बताईन् । नन्दिता र गरिमाको साथमा गायक मिङ्मा शेर्पा र गायिका रिम गुरूङले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । यो टोली यहि जुलाई २९ बाट युरोप भ्रमणमा हिड्नेछन् ।

