श्रावण १ गते अर्थात आजकै दिन नायिका ऋचा शर्माले यो धर्तीमा पाईला टेकेकी थिईन् । फिचर फिल्म फस्ट लभबाट नेपाली फिल्मलाई पाईला चालेकी सुदूर पश्मिमेली यि नायिकाले आफ्नो २६ औं जन्मदिनमा भने केट नकाट्ने बताईन् ।
पाटन बंगलामुखी मन्दिरको दर्शन पश्चात बालुवाटार फ्ल्याटमा परिवारका सदस्यसँग खुसी मनाइरहेकी ऋचा भन्छिन्- 'ईच्छा नलागेर केक काट्ने योजना नबनाएको । आमालाई पनि सन्चो छैन । त्यसकारण कुनै जमघटको कार्यक्रम राखिएन ।' गत वर्ष भिसा गर्ल युनिटसँग २५ औं जन्मदिन धुमधामसँग मनाएकी ऋचा साँझमा भने भिसा गर्लकी हिरोइन सालोनी राजभण्डारीको बिहे भोजमा सरिक हुनेछिन् ।
पछिल्लो पटक उमामा देखिएकी हिरोइनलाई पहिलो वर्थ डे विस कस्ले गर्यो त ? ऋचाले सम्झिईन्- 'राती बाह्र बज्नै लाग्दा अमेरिकाबाट दिदीले फोनमा वर्थ डे विस गर्नुभयो । त्यसपछि त विस गर्नेको बाढी नै छ ।' वर्थ डेमा विशेष उपहार चाहि के पाइयो त ? उनले सुनाइन्- 'छिमेकी भाइले एउटा टिर्सट र खुत्रुके उपहार दिएको छ । मलाई असाध्यै मन पर्यो ।' विशेष साथीको विशेष उपहार पनि त होला ? 'विशेष उपहार हुन त विशेष साथी पनि त हुनुपर्यो,' ऋचाले भनिन्- 'तपाईले भने जस्तो विशेष उपहार लिन चाहि अझै केही वर्ष कुर्नु पर्ला ।'
म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी ऋचाले आधा दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छिन् । डेव्यु फिल्म फस्ट लभ र लुटको ब्लकबस्टर व्यापार बाहेक ऋचाका अन्य फिल्मले सुखद व्यापार गर्न सकेका छैनन् । यद्यपी उनको भुमिकाको भने सबैबाट तारिफ हुन्छ । तत्काल कुनै पनि प्रोजेक्टमा साईन नगरेकी वर्थ डे गर्ल भन्छिन्- 'सिमित फिल्म काम गर्छु तर आफ्नो रोललाई विशेष ध्यान दिन्छु ।'
फिल्म निर्माणमा समेत हात बढाएकी ऋचालाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना ! यही मितिमा बलिउड अभिनेत्री कैटरिना कैफले पनि आफ्नो जन्मदिन मनाई रहेकी छिन् ।

