नायिका ऋचा शर्मा र नायक कर्मले पर्दामा श्रीमान् श्रीमतीको भुमिका निर्वाह गर्ने भएका छन् । ऋचा र कर्मले लघु फिल्म 'डार्कनेश एण्ड लाइट'मा उक्त रोल प्ले गर्न लागेका हुन् ।
फिचर फिल्म फस्ट लभ, लुट र भिसा गर्लमा ऋचा र कर्मले सँगै काम गरेका छन् । ऋचा अभिनित फिल्म उमा केही महिना अगाडी प्रर्शनमा आएको थियो । जुन फिल्मले सोचे अनुरुप व्यापार गर्न असफल भएको थियो । ऋचाले हाल कुनै पनि फिल्म साइन गरेकी छैनन् । त्यस्तै कर्म पनि अध्याय रिलिज पश्चात् रेष्टमा छन् । कर्मका कुनै पनि फिल्म प्रदर्शनको पर्खाइमा छैनन् ।
जीवन गुरुङ्को निर्देशनमा निर्माण हुन लागेको पन्ध्र मिनेटको छोटो फिल्मले लागु पदार्थ दुर्व्यसनीको स्टोरीलाई उठाएको छ । जुलाई २२ तारिखबाट सुटिङ सुरु गर्ने डेट फाइनल गरिएको फिल्ममा कर्म लागु औषध दुर्व्यसनी पतिको रोलमा प्रस्तुत हुनेछन् । सुटिङ लोकेशन काठमाण्डौ छानिएको फिल्ममा ऋचा र कर्मको साथमा अरुणा कार्की र मणी पोखरेल पनि छन् ।
फिल्मका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान हुन् । युकेमा फिल्म निर्देशनको कोर्स गरेर केही महिना अगाडी मात्रै नेपाल व्याक भएका निर्देशक गुरुङले 'डार्कनेश एण्ड लाईट' छोटा फिल्मको मेला केन्द्रित रहेको बताए ।

