नेपाल, आमाको माया, जलन, अंगरक्षक, जेठो कान्छो जस्ता फिल्म निर्माण गरेका चर्चित कलाकार निर्मल शर्मा 'गैंडा`ले फिल्म निर्देशन गर्ने भएका छन् । अर्की चर्चित नायिका पूजना प्रधान (स्त्री)ले निर्माण गर्न लागेको फिल्ममा निर्देशकको रूपमा निर्मल अनुबन्धित भएका हुन् ।
पूजनाकै लेखन रहेको फिल्म 'चक्लेट'ले सडक बालबालिकाको कथा भन्ने छ । भाद्र महिनाको अन्तिम साताबाट फ्लोरमा जाने तयारीका साथ हाल फिल्मको प्रि-प्रोडक्सनमा निर्माता प्रधान र निर्देशक शर्मा व्यस्त छन् । थुप्रै म्युजिक भिडियो तथा विज्ञापनको निर्देशन गरेका निर्मलले कथाले मन छोएको हुनाले निर्देशन गर्न लागेको बताए ।
'यसअघि पनि थुप्रै अफर आएका थिए तर यसको कथा निकै मन पर्यो र नाई भन्न सकिन,' निर्मलले फिल्म निर्देशन बारे फिल्मीखबरलाई जानकारी दिंदै भने- 'मैले जानेको बुझेको सिप यसमा प्रयोग गर्नेछु । आशा छ दर्शकले मेरो कामलाई स्विकार्नु हुनेछ ।' काठमाण्डौमा नै सुटिङ हुने यो फिल्मको कलाकारमा पूजना बाहेक अन्य फाईनल भएको छैन । 'मलाई फिल्म खेल्ने कलाकार हैन अभिनय गर्ने कलाकार चाहिन्छ । त्यसैले नाट्य क्षेत्रका कलाकार नै मेरो फिल्मका मुख्य पात्र हुनेछन्,' निर्मलले भने ।
सडक बालबालिकाको जीवन शैलीलाई पर्दामा देखाउने प्रयासमा लागेका निर्मलले फिल्ममा शेखर सन्तोषको संगीत तथा राजेन्द्र थापाको गीत रहने जानकारी दिए । निर्मल अहिले 'छ एकान छ' फिल्मको निर्माणमा पनि व्यस्त छन् । 'छ एकान छ' फिल्म प्याकअप भए लग्गतै चक्लेटको काम धमाधम शुरू हुने निर्मल बताउँछन् ।

