असारको बिहे लगन बितिसक्दा पनि नायिका निता ढुङ्गानालाई दुलाहा छान्दैको फुर्सद छैन । नोटवुकको गाला रातै गीत बजारमा आएपछि लोकप्रिय बनेकी निता यतिखेर आफ्नो बनाउन चाहने ६ जना युवाबाट घेरिएकी छिन् । तर, ६ मध्ये कस्लाई जीवन साथी रोज्ने ? भन्नेमा निता दोधारमा छिन् ।
गत शुक्रबारबाट फिल्म दबाबबाट दर्शकमाझ देखिएकी निताले कस्लाई आफ्नो जीवन साथी रोज्लिन् त ? यो चासोको विषय छायाँकनरत फिल्म 'छ एकान छ' पौष २७ गते रिलिज भएपछि मात्रै थाहा हुनेछ । निता हाल कमेडी फिल्म 'छ एकान छ'को सुटिङमा व्यस्त छिन् । निता ६ जना कमेडियनको एक्ली ड्रिम गर्ल हुन् । जहाँ दिपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, सिताराम कट्टेल, केदार घिमिरे र सन्दिप क्षेत्रीले निताको फलो गरिरहेका छन् ।

दिनेश डिसी निर्देशित फिल्म 'छ एकान छ'मा अभिनेता राजवल्लभ कोइरालालाई प्रमुख अतिथि कलाकारको रुपमा देख्न सकिनेछ । फिल्ममा उनको रोल खलपात्रको छ । फिल्मको सुटिङ प्याकअप भएपछि राज अमेरिका उड्नेछन् । राज पहिलो पटक फिल्ममा भिलेन भएर देखिन लागेका हुन् । राजलाई फिल्ममा हाँस्य भिलेन बन्न निर्माता निर्मल शर्माले आग्रह गरेको बताए । 'मेरो निकै प्रिय मित्र भएकाले व्यस्त समयका बाबजुत पनि हामीलाई साथ दिनुभयो,' निर्मलले भने- 'उहाँको भुमिकामा दर्शकले मज्जाले इन्जोय गर्छन् ।'

काठमाण्डौ र धुलिखेलमा खिचिएको फिल्मको दुई सातामा सुटिङ सकिने निर्माता निर्मल शर्मा जानकारी दिन्छन् । हालसम्म फिल्मको साठी प्रतिशत सुटिङ सम्पन्न भैसकेको छ । दिपकराज गिरी र दिपाश्री निर्रौलाको संयुक्त प्रस्तुती रहेको 'छ एकान छ'लाई पुरुषोत्तम खिचिरहेका छन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको फिल्ममा दिपक स्वयमको कथा छ । आफ्नो फिल्ममा भरपूर प्रबिधिको प्रयोग गरेको बताउने निर्माता शर्माले दर्शकलाई पनि भरपूर मनोरञ्जन दिने फिल्म बनाएको बताए ।

यसअघि दर्जन फिल्म निर्माण गरेका निर्माता शर्मा एवम् 'सुन्दर मेरो नाम' फिल्ममा मुख्य पात्रका रुपमा प्रस्तुत भएका दिपकले कथा लेखेको फिल्मले दर्शक माझ कस्तो छापा छोड्छ ? प्रतिक्षाको विषय हुनेछ ।

