सुदुरपश्चिमको दार्चुलामा केही दिन अघि आएको भीषण बाढीबाट पीडित भएकाहरुको सहयोगको लागि युवा संघ नेपाल व्यास नगर कमिटीले नेपाली फिल्म ‘महशुस’को शनिबार च्यारिटी सो आयोजना गर्यो ।

मनकामना चलचित्र मन्दिरमा भएको विशेष प्रर्दशनीमा फिल्मका कलाकार आर्यन सिग्देल, निर्माता तथा कलाकार कल्याण घिमिरे लगायतको उपस्थिति रहेको थियो । व्यवस्थापकीय खर्च कटाएर च्यारिटी शोबाट संकलित रकम बाढी पीडितहरुको सहयोगको लागि पठाईने युवा संघ नेपाल व्यास नगर कमिटीका अध्यक्ष रमेश श्रेष्ठले बताए । युवाहरुको ढुकढुकी युवा संघलाई सामाजिक कार्यमा लगाउने र नेपाली फिल्मको खस्कँदो बजारलाई समेत माथि उठाउने उद्देश्यले महशुसको च्यारिटी शो आयोजना गरिएको श्रेष्ठले बताए ।

कार्यक्रममा उपस्थित निर्माता कल्याण घिमिरेले फिल्म प्रर्दशनीबाट संकलित रकमको केही हिस्सा सामाजिक काममा लगाउने उद्देश्यले च्यारिटी शो गरिएको बताए । उनले यस अघि निर्माण गरेको फिल्म ‘श्रीमान’बाट संकलन भएको केही रकम पनि एम्बुलेन्स खरिद लगायत सामाजिक काममा प्रयोग गरिएको बताए । सो अवसरमा फिल्मका नायक आर्यन सिग्देलले ‘महशुस’मा वास्तविक नेपाली समाजको कथा रहेको हुँदा सबैले एक पटक हेर्नुपर्ने बताए ।
नवल नेपालले निर्देशन गरेको यो फिल्ममा आर्यनको साथमा केकी अधिकारी र बेनिशा हमालको मुख्य भुमिका रहेको छ । सुरेश अधिकारीको संगीत रहेको यो फिल्म आगामी श्रावण ३२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

