द एकेडेमी अफ् मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा २०७० फागुन १८ गते अर्थात् सन् २०१४ मार्च २ तारिखका दिन अमेरिकाको लस एन्जेलसमा ८६औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) प्रदान गरिने भएको छ । उक्त अवार्डमा प्रतिस्पर्धीका रूपमा सहभागी हुन ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ले नेपाली फिल्मकर्मीहरूलाई यही २०७० श्रावण ६ गते आइतबार १:०० बजेभित्र यस समितिको सचिवालयमा फिल्म दर्ता गर्नका लागि आह्वान गरेको छ ।
चलचित्र छनोट समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरि २१ बुँदे मापदण्ड सार्वजनिक गरेको छ । जसमा मापदण्ड पुगेका मध्ये एक उत्कृष्ट नेपाली फिल्मलाई समितिले ओस्कारका लागि पठाउनेछ । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेसले नेपालमा गठित ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति'लाई तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन अनुरोध पत्र प्राप्त पठाएको हो । सोही अनुरोध पत्रमा समावेश गरिएको २१ बुँदे मापदण्ड निम्नानुसार छ -
मापदण्ड, तिथिमिति र नियमहरू :
१. प्रतियोगी चलचित्र निर्माण भएको देशमा सन् २०१२ अक्टोबर १ तारिख अर्थात् वि.सं. २०६९ असोज १५ गतेभन्दा पछि मात्र तथा सन् २०१३ सेप्टेम्बर ३० तारिख अर्थात् वि.सं. २०७० असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।
२. आफ्नो देशका चलचित्र भवनहरूमा उक्त चलचित्र निर्माताहरूका निम्ति व्यापारिक लाभ हुने प्रयोजनका लागि घटीमा सात दिनसम्म लगातार रूपमा दिनैपिच्छे सार्वजनिक प्रदर्शन भएको हुनु पर्नेछ ।
३. एकेडेमीको प्रतियोगितामा पठाउनका लागि कुनै पनि प्रतिस्पर्धी चलचित्र ३५ मि.मि. अथवा ७० मि.मि.मा निर्माण गरिएको हुनु पर्नेछ । अथवा, त्यसको साटो २४ वा ४८ प्रति सकेण्ड फ्रेमको प्रोग्रेसिभ स्क्यान डिजिटल फम्र्याटमा निर्माण भएको हुनु पर्नेछ, जसको न्यूनतम प्रोजेक्टर रेजोल्युशन २०४८/१०८० पिक्सेलको हुनु पर्नेछ । त्यसको इमेज स्वरूप र इमेज फम्र्याट चाहिँ निश्चित रूपमा एस.टी. ४२८–१:२००६ डी–सिनेमा डिस्ट्रिब्युशन मास्टर हुनु पर्नेछ ।
यदि चलचित्रमा इमेज कम्प्रेशन प्रयोग गरिएको छ भने न्यूनतम रूपमा आई.एस.ओ./आइ.इ.सी. १५४४४–१ (जे.पी.इ.जी.–२०००) भई दृश्य र ध्वनिको फाइल फम्र्याट व्यावसायिक डिजिटल सिनेमा उपकरणद्वारा प्रदर्शन गर्नका लागि मिल्न सक्ने हुनु पर्दछ ।
४. यद्यपि, डि.सी.पी. (डिजिटल सिनेमा प्याकेज) मा ५.१ च्यानललाई उपयुक्त एवम विवेकपूर्ण ध्वनि पद्धति मानिन्छ र सकेसम्म ५.१ पद्धतिमा रेकर्ड् गरिएको ध्वनि हुनु पर्दछ । तथापि, ७.१ च्यानलसम्मको पद्धतिमा ध्वनि रेकर्ड गरिएको भए पनि स्वीकार गरिने छ । ध्वनि पद्धतिमा मोनो कन्फिग्युरेशन हुनु हुँदैन । कम्तिमा पनि लेफ्ट, सेन्टर र राइट कन्फिग्युरेशन (समाकृति) गरी तीन च्यानलको ध्वनि पद्धति हुनु आवश्यक पर्दछ, किनभने देब्रे दाहिने दुईतिर मात्रै सुनिने ध्वनि पद्धति सिनेमा घरहरूमा स्वीकार्य हुँदैन ।
५. डि.सी.पी. फरमेशनमा चलचित्रको अडियो डाटा निश्चित रूपले एस.टी. ४२८–२:२००६ डी–सिनेमा डिस्ट्रिब्युशन मास्टर हुनु पर्नेछ र अडियोको मुख्य गुण चाहिँ एस.टी. ४२८–३:२००६ डि–सिनेमा डिस्ट्रिब्युशन मास्टर अडियो च्यानल म्यापिङ र च्यानल लेबलिङ हुनु पर्नेछ ।
६. ३५ मि.मि., ७० मि.मि., डिजिटल भिडियो, सी.जी.आई. आदि जुनसुकै विधिद्वारा सिनेमा खिचेको भए पनि प्रतियोगी चलचित्रलाई डि.सी.पी.मा परिणत गरिएको हुनु पर्नेछ अनि डि.सी.पी.को मास्टरिङ गर्दा कम्प्रेशन गर्नका लागि ‘वन पर फ्रेम’ डिजिटल इमेज फाइल बनाउनु आवश्यक हुनेछ ।
७. एकेडेमीको प्रतियोगितामा सामेल भएको समयमा आफ्नो देशमा प्रतियोगी चलचित्रको विज्ञापन र प्रदर्शन गर्न पाइने छ, तर त्यस अवधिमा अमेरिकामा चाहिँ त्यस चलचित्रको प्रदर्शन गरिएको हुनु हुँदैन ।
८. प्रतियोगी चलचित्रको आफ्नो देशका सिनेमा घरहरूमा व्यावसायिक प्रदर्शन शुरु हुनु अघि कुनै पनि टेलिभिजन अथवा इन्टरनेट ट्रान्समिशनद्वारा प्रदर्शन गरिएको हुनु हुँदैन ।
९. प्रतियोगी चलचित्रको ओरिजिनल डाइलग् ट्रयाक कुनै पनि अवस्थामा अंग्रेजी भाषामा हुनु हुँदैन र मूल रूपमा आफ्नै देशको राष्ट्रिय भाषा, राष्ट्र भाषा वा भाषाभाषी अथवा बोलीचालीमा बोलिएको वा रेकर्ड गरिएको हुनु पर्नेछ । तर उक्त चलचित्रमा शुद्ध अंग्रेजी भाषामा सब्टाइटल राख्नु अनिवार्य छ, जसमा लाग्ने खर्च निर्माता स्वयम्ले गर्नु पर्दछ ।
१०. प्रतिस्पर्धी चलचित्रमा सिर्जना सम्बन्धी प्रायः सबै मुख्य कार्यहरू आफ्नै देशका नागरिकहरूले सम्पन्न गरेका हुन् भनी राज्यद्वारा अनिवार्य रूपमा प्रमाणित गरिएको हुनु पर्दछ ।
११. कुनै पनि देशको छनोट समितिले छानेर पठाएको चलचित्रलाई प्रतियोगितामा राख्ने वा नराख्ने कुराको अन्तिम छनोट र निर्णय एकेडेमीले नै गर्नेछ ।
१२. एकेडेमीद्वारा आधिकारिक मान्यता प्रदान गरिएको हरेक देशका विज्ञ चलचित्रकर्मीहरूको एक निर्णायक मण्डल वा छनोट समितले आफ्नो देशमा निर्माण भएको एउटा उत्कृष्ट चलचित्रलाई विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र प्रतिस्पर्धामा सहभागी बन्नका निम्ति छनोट गरी पठाउने छ । उक्त निर्णायक मण्डल वा छनोट समितिले सन् २०१३ अगस्ट १ तारिख (तदनुसार वि.सं. २०७० श्रावण १७ गते) भित्रमा तत्सम्बन्धी कागजपत्रहरू एकेडेमीमा पठाइसक्नु पर्नेछ ।
१३. त्यस्तो मान्यता प्राप्त आधिकारिक समिति वा संस्थाले आफ्नो देशबाट एउटा मात्र चलचित्र छनोट गरी सिफारिस पत्र पठाउनु पर्नेछ ।
१४. छनोट गरिएको चलचित्रका बारेमा निर्माताले पूर्ण जानकारी दिलाउन सकुन् भनी एकेडेमीले समितिलाई प्रवेश फारम पठाई दिनेछ ।
१५. निर्माताले प्रवेश फारमका साथमा निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स्), अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश, निर्देशकको बायोग्राफी र फोटो, चलचित्रका स्थिर फोटाहरू (Still Photographs), चलचित्र रिलिज हुँदाको एउटा पोस्टर, चलचित्र प्रदर्शन गराउँदा समाचार पत्रहरू तथा पत्रिकाहरूमा छापिएका विज्ञापनका कटिङहरू समेत सन् २०१३ अक्टोबर १ तारिख तदअनुसार २०७० असोज १५ गतेसम्ममा अनिवार्य रूपमा एकेडेमीमा पुग्ने गरी पठाइसक्नु पर्नेछ । साथै अन्य महत्वपूर्ण जानकारी दिने कागजातहरू पनि पठाउन सकिनेछ ।
१६. चलचित्रको प्रिन्ट अथवा डि.सी.पी. (डिजिटल सिनेमा प्याकेज) सन् २०१३ अक्टोबर १ तारीख अर्थात २०७० असोज १५ गते दिनको ५:०० बजेभित्रमा एकेडेमी कार्यालयमा पुगिसक्नु पर्नेछ, जसका लागि आवश्यक पर्ने खर्चको सबै रकम निर्माताले पहिले नै (प्रिपेड) तिरेर पठाउनु पर्नेछ ।
१७. सो चलचित्र हेरेर एकेडेमीले प्रतियोगितामा सामेल गराउने निर्णय लिइसकेपछि विभिन्न निर्णायक मण्डलहरूद्वारा हेर्नका निम्ति अंग्रेजी सब्टाइटल राखिएको चलचित्रको दोस्रो प्रिन्ट वा डि.सी.पी. एकेडेमीमा त्यसरी नै पठाउनु पर्नेछ । दोस्रो प्रिन्ट वा डि.सी.पी. सन् २०१४ जनवरी १४ तारिख अर्थात् २०७० पुष ३० गते ५ः०० बजेभित्रमा एकेडेमी कार्यालयमा पुगिसक्नु पर्नेछ ।
१८. त्यसरी एकेडेमीमा प्राप्त भएका प्रिन्ट वा डि.सी.पी.का कपीहरू निर्णायक मण्डलीहरूको भोटिङ्ग अवधिभरि एकेडेमी मै रहनेछन् ।
१९. पुरस्कारको नोमिनेशनमा पर्ने ५ वटा विदेशी भाषी चलचित्रका एक–एक प्रिन्ट एकेडेमीले आफ्नो संग्रहालयमा सुरक्षित गरी राख्ने छ र बाँकी अरू पिन्ट वा डि.सी.पी. एकेडेमीले आफ्नै खर्चमा निर्मातालाई पठाई दिनेछ । संग्रहालयमा राखिएका चलचित्रहरूलाई एकेडेमीले व्यवसायिक प्रदर्शन गर्ने छैन ।
२०. नोमिनेशनमा परेको चलचित्रले अस्कर अवार्ड प्राप्त गर्न सकेको खण्डमा पुरस्कार बापत प्राप्त हुने ट्रफी त्यस चलचित्रको सर्जकका हैसियतले निर्देशकले ग्रहण गर्नुपर्नेछ ।
२१. एकेडेमीद्वारा कुनै पनि चलचित्र अस्कर अवार्डमा प्रतिस्पर्धी हुनका निम्ति छनोट गरी सेमी फाइनलसम्म पुगे पनि निर्माताहरूले त्यस चलचित्रको व्यवसायिक विज्ञापन गर्दा ‘अस्कर अवार्डड्को शर्टलिस्टमा पर्न सफल’ अथवा ‘अस्कर अवार्डको फाइनलिस्ट्’ वा ‘एकेडेमी अवार्डको अन्तिम चरणमा पुग्न सफल’ इत्यादि कुरा उल्लेख गर्न पाइने छैन । तर नोमिनेशनमा पर्न सफल भएको खण्डमा चाहिँ अस्कर अवार्डमा प्रतिस्पर्धी भएको कुरा विज्ञापनहरूमा उल्लेख गर्न सकिने छ ।
विशेष जानकारी
(क) नेपालको प्रतिनिधित्व गर्दै ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र’ विधाको एकेडेमी अवार्ड् अर्थात् अस्कर अवार्ड् प्रतियोगितामा प्रतिस्पर्धा गर्न चाहने निम्नलिखित मापदण्ड पुगेका नेपाली चलचित्रहरूमध्येबाट ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’ ले एक उत्कृष्ट चलचित्रलाई मात्र छनोट गरी एकेडेमी समक्ष सिफारिस पत्र पठाउने छ ।
(ख) चलचित्रमा मौलिक नेपाली कथावस्तुलाई यथार्थपरक ढंगमा प्रस्तुत गरिएको हुनु पर्नेछ ।
(ग) नेपाली सार्वभौमिकता, सँस्कृति, परम्परा, धर्म तथा गौरव गरिमाका कुराहरूलाई अवहेलना गरिएको हुनु हुँदैन ।
(घ) विविध नेपाली जातजाति, वर्ग, समुदाय बीचको स्नेह, सद्भाव र सद्व्यवहारमा आँच पुग्ने किसिमको प्रस्तुति हुनु हुँदैन ।
(ङ) कुनै पनि मित्र राष्ट्र वा मित्र राष्ट्रका नागरिकहरूको स्वाभिमान र मर्यादाप्रति व्यंग्य नगरिएको तथा नेपाल, नेपाली र मित्र राष्ट्रहरूबीच कायम रहेको सामाजिक, आर्थिक, धार्मिक एवम् कुटनैतिक सम्बन्धमा कुनै पनि किसिमको आँच पु¥याउने कथ्य वा आसय नभएको चलचित्र हुनु पर्नेछ ।
(च) चलचित्रको कथ्य र प्रस्तुति सिर्जनात्मक, कलात्मक, रचनात्मक तथा सुधारात्मक वा सकारात्मक हुनु पर्नेछ ।
(छ) कथ्यको प्रकटीकरणमा परिष्कृति, वैचारिक उच्चता एवम् सिर्जनशीलता हुनु पर्नेछ ।
(ज) चलचित्रको छायाङ्कन, लाइटिङ्, ध्वनि, सम्पादन, डबिङ, मिक्सिङ, कलर करेक्शन् जस्ता प्राविधिक पक्षमा उच्च कोटीको दक्षता देखिने क्षमता भएको हुनु पर्नेछ ।
(झ) कलाकारहरूको अभिनय सजीव र स्वाभाविक हुनु पर्नेछ ।
(ञ) यौनजन्य विषयवस्तु भएमा त्यसको प्रस्तुति परिमार्जित, परिष्कृत, साङ्केतिक, कलात्मक एवम् सर्वपाच्य र सर्वग्राह्य हुनुपर्नेछ ।
(ट) प्रतियोगी चलचित्रमा सिर्जनात्मक पक्षका प्रायः सबै मुख्य कार्यहरू अनिवार्य रूपमा नेपालकै नागरिकहरूले सम्पन्न गरेको हुनु पर्नेछ ।
(ठ) चलचित्रमा नेपाल र नेपालीहरूको स्वाभिमान, मान मर्यादा, प्रतिष्ठा तथा देश प्रेम, निर्माण र विकास प्रेम, एवम् पसिना र परिश्रम आदि कुरालाई सम्मानजनक ढंगबाट प्रस्तुत गरिएको हुनु पर्दछ ।
(ड) विश्वको सबैभन्दा सम्मानित, लोकप्रिय, विवादरहित एवम् चलचित्र सम्बन्धी सर्र्वश्रेष्ठ पुरस्कारका रूपमा प्रतिष्ठित उक्त अस्कर अवार्ड्को प्रतिस्पर्धामा आफ्नो चलचित्रलाई सहभागी बनाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गर्न चाहने नेपाली चलचित्र निर्माताहरूले आफूले निर्माण गरेको प्रतियोगी चलचित्र सन् २०१३ जुलाई २१ तारिख अर्थात् मिति २०७० श्रावण ६ गते आइतबार दिनको १ः०० बजेभित्रमा ‘विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)’को सचिवालयमा दर्ता गरी बुझाई सक्नु पर्नेछ ।
(ढ) चलचित्र बुझाउँदा दर्ता शुल्क रू. १०,०००।– (अक्षरेपी दश हजार रूपैयाँ) चलचित्र तथा आवश्यक कागजातहरूका साथमा बुझाउनु पर्नेछ ।
(ण) छनोट समिति (नेपाल)द्वारा प्रतिस्पर्धामा नपठाउने निर्णय गरिएको र छनौट गरिएको दुबै प्रकारका चलचित्रको दर्ता शुल्क फिर्ता हुने छैन । छनौट गरिएको चलचित्रको हकमा पनि चलचित्रलाई एकेडेमी (अमेरिका) पठाउने कुरियर खर्च, डि.सी.पी. फाइलमा परिणत गर्ने, सबटाइटल गर्ने शीर्षकका खर्चमा समेत उक्त दर्ता शुल्क बापत तिरेको रकम प्रयोग हुने छैन । नियम अनुसार लाग्ने खर्च निर्माता स्वयम्ले बेहोर्नु पर्नेछ, जुन कुरा एकेडेमीले समेत आफ्नो नियमावलीमा तोकेको छ ।
विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रका लागि आवेदन साथ संलग्न गर्नुपर्ने सामग्रीहरू
सन् २०१२ अक्टोबर १ तारिख अर्थात् वि.सं. २०७० असोज १५ गते दिनको ५:०० बजेभित्रमा द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेस्को कार्यालय अमेरिकामा पुगिसक्नु पर्ने वस्तुहरू :
छनोट समितिका तर्फबाट :
१. प्रवेश फारम नं. १
२. प्रवेश फारम नं. २
निर्माताका तर्फबाट :
१. प्रवेश फारम नं. ३
२. पर्दामा देखिने सम्पूर्ण क्रेडिट् टाइटलको अंग्रेजीमा नामावली
३. अंग्रेजी भाषामा चलचित्रको संक्षिप्त सारांश
४. अंग्रेजी भाषामा निर्देशकको बायोडाटा र फिल्मोग्राफी
५. निर्देशकको फोटोग्राफ
६. चलचित्रका २/३ वटा प्रतिनिधि स्थिर फोटाहरू । डिस्कमा पठाइने फोटाहरू घटीमा ३०० डि.पी.आई. रिसोलुशनमा हुनुपर्ने ।
७. आफ्नो देशमा चलचित्र प्रदर्शन हुँदाको एउटा पोस्टर ।
८. सात दिनसम्म देश भित्रका सिनेमा घरमा सार्वजनिक प्रदर्शन भएको कुरा प्रमाणित हुने समाचारपत्र, पत्रपत्रिका आदिमा प्रकाशित भएका विज्ञापनका क्लीप् र कटिङ्हरू ।
९. अंग्रेजीमा सबटाइटल भएको ३५ मि.मि.को एउटा प्रिन्ट वा डि.सी.पी. फाइल ।
सम्पर्क ठेगाना :
विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)
काठमाडौं, नेपाल डड फोन नं : ०१–४४११७९१
मोबाइल : ९८०५१२३५१७ (अध्यक्ष) वा ९८५१०२९२०० (सचिव)
Email : [email protected]

