साउन ३२ को रिलिजबाट फिल्म सौर्यले हात झिकेको छ । फिल्मको प्राविधिक कार्य योजना अनुरुप सकिन बाँकी रहेकाले सौर्य उक्त डेटबाट ब्याक भएको हो । फिल्मका निर्देशक मार्कण्डेय दीपविम बस्नेतले रिलिज डेट पोस्टपोन्ड गरिएको बारे भने- 'फिल्मको लाइटिङ अन्तिम चरणमा हुँदैछ । एनिमेशन फिल्म भएकाले सम्पादनमा समय लाग्यो ।'
सुपर हिरोको कथा बोकेको फिल्म चार वर्ष अगाडी नै सुट भएको थियो । फिल्मका सुपर हिरो सौगात मल्ल हुन् । सौगातले लुट भन्दा अगाडी सौर्यको सुट गराएका थिए । फिल्ममा सौगातसँगै अभिनेता राजेश हमाल पनि छन् । फिल्मलाई राजेशलाई बिशेष भुमिकामा दर्शकले देख्न पाउने छन् । उनको लुक्सलाई फिल्म युनिटले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
फिल्ममा हाकिम गुरुङको लगानी छ । सौर्यको आगामी रिलिज डेट भाद्र दोस्रो साता सम्भावना छ । निर्माण युनिले एक साता भित्र दोस्रो अफिसियल प्रोमो सार्वजनिक गर्ने तथा मिडिया प्रचारमा आउने योजना बनाएको छ । साउन ३२ बाट सौर्य ब्याक भएपछि सोही मितिमा रिलिज हुने महसुश र किन किनलाई केही फाईदा पुग्ने संभावना छ । यद्पी यी दुई फिल्मलाई मल्टिप्लेक्स स्टेशनमा शाहरुख खानको चेन्नेई एक्सप्रेसको एक हप्ते धङधङी र वन्स अपन टाईम इन मुम्बई सिक्वेलको फ्रेस रिलिजले चुनौती दिनेछ ।
पारिवारिक प्रेमकथामा आधारित फिल्म महसुश फिल्मका निर्देशक नवल नेपाल हुन् । यसअघि सफल फिल्म श्रीमान निर्देशन गरेका नवलको महसुशलाई पनि केही गर्न सक्ने फिल्मको कोटीमा फिल्मकर्मीले राखेका छन् । कल्याण घिमिरे निर्मित महसुशमा आर्यन सिग्देल, केकी अधिकारी र वेनिशा हमालको त्रिकोणात्मक प्रेमकथा देख्न पाइनेछ ।

