सिक सिटीबाट उदायका अभिनेता अर्पण थापा स्क्रिप्ट लेखनलाई तिव्रता दिंदैछन् । फिल्म धन्दा र प्रदर्शनको पर्खाइमा रहेको फिल्म मौनका स्क्रिप्ट राईटर अर्पण विगत ६ महिना देखी स्क्रिप्ट लेखनमा व्यस्त छन् ।
धन्दामा सोसल ड्रामा र मौनमा चर्को प्रेमकथालाई मुख्य प्लट बनाएका अर्पणले लेख्दै गरेको स्क्रिप्ट एक्सन केन्द्रित छ । फिल्म सुन्तलीको आधा सुटिङ सकाएर बसेका ब्याच नम्वर १६ का एपीएफले भने- 'स्क्रिप्टको फस्ट हाफ ड्राफ्टमा पुगेको छु । दुई महिना भित्र फाईनल ड्राफ्ट तयार हुन्छ ।' स्क्रिप्टमा अर्पणले ६ जना क्यारेक्टरलाई मुख्य रुपमा उठाएका छन् । जसका एक मुख्य पात्र अर्पण स्वयम हुन् ।
धन्दा र मौनका मुख्य क्यारेक्टर अर्पण भन्छन्- 'स्क्रिप्टका बाँकी पात्र को-को हुन्छन्, मैले निष्कर्श निकालेको छैन । अरु पात्र सेलेक्सनको जिम्मा निर्देशकलाई छोडिदिएको छु ।' लेख्दै गरेको स्क्रिप्टको निर्देशक को त ? उनी स्वयम् ? अर्पणले स्पष्ट जवाफ दिएनन् । आफ्नै स्क्रिप्टको निर्देशक बन्ने सम्भावनालाई बाँकी राखेका अर्पण भन्छन्- 'फिल्मको निर्देशन गर्छु भन्ने सोच छ तर कहिले र कस्को स्क्रिप्टमा गर्छु भन्ने टुङ्गो लागेको छैन ।'
बधशालाका रिसाहा आर्मीले लेख्दै गरेको स्क्रिप्टमाथि सम्भवतः नयाँ व्यानरले फिल्म निर्माण गर्नेछ । यसबारे अर्पणले भने- 'स्क्रिप्ट मन पर्यो भन्ने धेरै हुनुहुन्छ । तर यही कम्पनीसँग गर्ने भन्ने फाईनल भने भएको छैन । सम्भवतः नयाँ व्यानरसँग सहकार्य गर्छु होला ।' सुन्तली सुटिङलाई पर्खी रहेका अर्पणले तत्काल नयाँ प्रोजेक्टमा साईन गरेका छैनन् । भन्छन्- 'स्क्रिप्ट हेर्दैछु । वर्तमान फिल्म बजारलाई हेरेर फिल्म खेल्ने निर्णय लिएको लिन्छु ।'

