यो शुक्रबार दुई मात्रै नेपाली प्रदर्शन हुँदैछन् । फिल्म दबाब र नथिङ इम्पोसिबल अल नेपाल प्रदर्शन हुने निर्माण युनिटको जानकारी छ । दबाबले अभिनेता आर्यन सिग्देल र नायिका निता ढुङ्गाना बिचको प्रेमको कथा बोल्नेछ भने नथिङ इम्पोसिबलले ९ बर्षिय बालकको स्टन्डलाई प्रस्तुत गर्नेछ ।
मल्टिप्लेक्स स्टेशनमा दबाब फिल्मले हाइपमा रहेका विदेशी भाषाका फिल्मसँग जुध्नु पर्नेछैन । यद्पी दबाब र नथिङ इम्पोसिबलले असारे झरी र नेपाली फिल्म प्रति बढ्दै गएको दर्शकको खस्कदो लगावसँग भने लडाइँ गर्नुपर्नेछ ।
दबाब
दयाराम दाहाल निर्देशित फिल्म दबाब काठमाण्डौ र मोफसल गरी ४० वटा पर्दामा प्रदर्शन हुनेछ । भानु महर्जन निर्मित फिल्मको छायाँकन हेटौडा र काठमाण्डौ आसपासका रमणीय स्थानमा भएको हो । दबाब सुटिङताका नायिका ढुङ्गानाले आमा गुमाएकी थिइन् । बसन्त सापकोटा र दिपक शर्माले संगीत दिएको फिल्मलाई दिव्य सुवेदीले खिचेका छन् । राजेन्द्र खड्गी द्धन्द्ध निर्देशक रहेको फिल्मको लगानी साठ्ठी लाख दाबी गरिएको छ ।
नथिङ इम्पोसिबल
केही पनि असम्भव छैन भनी नाम दिइएको फिल्ममा निर्माता तथा निर्देशक राजेन्द्र खड्गीका नाती आर्यन खड्गीले खतरनाक द्धन्द्धका दृश्य दिएका छन् । ९ वर्षिय आर्यनले साईक्लिङ देखी हर्ष राइडिङ सम्मका दृश्य दिएका छन् । फिल्ममा आर्यनकी आमा रागिनी खड्गीले आइटम डान्स गरेकी छिन् । निर्माता तथा निर्देशक राजेन्द्रकै फाईट डिरेक्सन रहेको फिल्ममा आर्यनसँगै कुशल थापा, रोमी खड्गी लगायतको अभिनय छ । राजु केसीको छायाँकन रहेको फिल्ममा लक्ष्मण शेष, मनोजराज भण्डारी र नेत्रविक्रम केसीले संगीत दिएका छन् ।

