Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

राष्ट्रिय पुरस्कार : जुरीले बुझायो निर्णय

फिल्मीखबर, काठमाण्डौ, 2013/07/10

राष्ट्रिय चलचित्र पुरस्कारको जुरी सदस्यले चलचित्र विकास वोर्डलाई अन्तिम निर्णय हस्तान्तरण गरेको छ । चार सदस्सिय टोलीले आज (असार २६) चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैतालाई खाम बन्दी गरिएको निर्णय हस्तान्तरण गरेको हो ।

 

जुरीबाट प्राप्त वर्ष ०६७, ०६८ र ०६९ का फिल्महरू मध्ये उत्कृष्टलाई विकास वोर्डले यसै साता सञ्चार मञ्त्रालयमा पठाउनेछ । सञ्चार र राष्ट्रपति कार्यालयसँगको सहकार्यमा अवार्ड कार्यक्रम आयोजना हुनेछ । विकास वोर्ड अध्यक्ष मोरवैताले एक महिना भित्र अवार्ड आयोजना भैसक्ने जानकारी दिए ।

 

 

राष्ट्रिय चलचित्र पुरस्कारको जुरी सदस्यमा सञ्चारकर्मी प्रकाश सुवेदी, शान्ति प्रिय, तपोनाथ शुक्ला र निर्देशक शैलेश आचार्य छन् । राष्ट्रिय चलचित्र अवार्डमा तीन वर्षका ८० फिल्म सहभागी छन् । उत्कृष्ट फिल्म, निर्देशक, छायाँकार, लेखन, सम्पादक, महिला भूमिकामा अभिनय (अभिनेत्री) र पुरुष भूमिकामा अभिनय (अभिनेता) गरी सात विधामा तीन वर्ष (०६७, ०६८ र ०६९) का छुट्टा–छुट्टै उत्कृष्ट विधामा राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट गर्न तथा उल्लेखित विधाहरु बाहेक निर्णायक मण्डललाई अभूतपूर्व रुपमा विशिष्ट लागेमा अन्य विधामा समेत पुरस्कारका लागि सिफारिश गर्न सक्ने कार्यक्षेत्र तोकेको थियो ।

 

फिल्म अवलोकनका लागि बोर्डबाट बैशाख ४, २०७० मा आवेदन आह्वान भएकोमा ०६७ का १६, ०६८ का २३, र ०६९ का ३९ फिल्महरु निर्णायक मण्डल (जुरी)बाट अवलोकन भएको थियो । राष्ट्रिय चलचित्र पुरस्कार निश्पक्ष एवम् विवाद रहित हुने सञ्चारकर्मी सुवेदीले बताएका छन् । फिल्मीखबर समक्ष उनले भने- 'हामीले फिल्मको व्यापारलाई हेरेर उत्कृष्टताको मूल्याकंन गरेका छैनौं ।' व्यापारमा असफल भएका फिल्म पनि उत्कृष्ट भित्र समावेश रहेको प्रकाश बताउँछन् ।

 

आदिवासी, जनजाति तथा विभिन्न मातृभाषाका फिल्महरुलाई समेत राष्ट्रिय चलचित्र पुरस्कारका लागि सहभागीका लागि आह्वान भएकोमा २०६८ मा १ वटा र ०६९ मा २ वटा फिल्महरू जुरीबाट अवलोकन भएको थियो । प्रत्येक वर्षको एउटा फिल्मलाई उत्कृष्ट फिल्म (आदिवासी जनजाति तथा विभिन्न मातृभाषी) विधामा राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत गर्ने व्यवस्था रहेको छ ।