Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुमनसँग जुवा गफ : `पच्चिस हजार हारेको छु`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/10

अभिनेता सुमन सिंहलाई फिल्म ग्याम्वलरमा जुवाडेको क्यारेक्टरमा देख्न पाइनेछ । यादव गुरुङको लगानी एवम रमेश बुढाथोकीको निर्देशनमा निर्माण भएको फिल्म यही भदौ ७ गते देशभरका स्टेशनबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुमनको साथमा अभिनेता राजेश हमाल, सौजन्य सुब्बा, बिना बुढाथोकी लगायतको अभिनय छ ।

 

वर्ष ०६९ मा हप्तै पिच्छे जसो हलमा देखिएका सुमन सिंहले पहिलो पटक फिल्म ग्याम्वलरमा जुवाडेका भुमिका निर्वाह गरेका हुन् । सत्तरी सालको सुरुवातसँगै चुजी देखिएका यी अविवाहित अभिनेता रियल लाइफमा चाहि कत्तिको जुवाडे छन् त ? फिल्मीखबरले अभिनेता सिंहसँग जिज्ञासा राखेको छ ।


धनगढी जन्मथलो भएका सुमन सिंहको जुवा तासमा त्यती लत छैन । यद्धपी उनी दशै तिहार जस्ता चाड पर्व र साथी भाइको जमघटमा भने तास खेल्न रुचाउँछन् । 'ब्याच नम्बर १६' फिल्मका आर्मी भन्छन्- 'चाडपर्वमा हामी घरका सदस्य मिलेर कौडा खेल्छौं । तर परिवारको खेलमा पैसा भन्दा पनि रमाइलोलाई बढी महत्व दिइन्छ ।' जुवा र तास बारे सुमनको धारणा छ- 'यो एक प्रकारको नशा जस्तै हो । यसको नशा जित र हारसँग मतलब हुँदैन ।'

 

सुमन चाहि जित र हारको नशामा कति पटक परेका छन् त ? भन्छन्- 'मैले एक पटक पच्चिस हजार सम्म हारेको छु । वास्तवमा हारको क्षण एकदमै पिडादायक हुने रहेछ । जितले भने फेरी खेलौं खेलौं भन्ने भावना पैदा गर्छ ।' दुई किनारा डेव्यु अभिनेताले जित भने एक पटक मात्र हात पारेका रहेछन् । साथी सर्कलसँगको तास खेलमा उनले पन्ध्र हजार सम्म जितेका छन् ।

 


नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा पनि सुमनले प्रवेश पाएका रहेछन् । तर त्यहाँ उनी जुवा खेल्न नभई हेर्न पुगेका रहेछन् । साथी सर्कलसँग क्यासिनो पुगेका सुमनलाई त्यहाँको वातावरणले रमाइलो भन्दा पनि दुःखी बनाएछ । सुमन सम्झिन्छन्- 'क्यासिनोले कसैको जीन्दगी बनाएको देखिंन । करोडौका मालिक फुटपाथमा पुगेका कथा सुन्न पाएँ । तर उनीहरु जित्ने आशले जुवा खेलिरहेको देखें ।'

 

सुमन जुवाडे भएको फिल्मको सन्देश पनि त्यही छ, जुवा तासले बनाउने भन्दा पनि बिगार्ने काम गर्छ । सुमन भन्छन्- 'जुवा र तासमा लत लागेको मान्छे कहिल्यै निस्क्रिय हुँदैन । त्यहाँ हुने सक्रियता अन्य क्षेत्रमा लगाए जीवन सुख र सुन्दर हुनेछ ।' सुमनको सन्देश छ- 'जुवा र तास खेल्नुस्, लगानी बिनाको रमाइलो गर्नुस् तर आफ्नो जीन्दगी बरबाद पार्ने खेल कहिल्यै नखेल्नुस् ।'