नेपालको मौलिकता झल्काउने हँसियाले गाउँघरमा घाँस काट्न प्रयोग गरिन्छ तर फिल्मको पर्दामा भने हँसियाले देशमा भईरहेका अपराध, गुण्डागर्दी, राजनैतीक चलखेल, हत्या, हिंसा, बलत्कार जस्ता सामाजिक अपराधलाई काट्ने छ ।

.jpg)
भोली बुधबारबाट फ्लोरमा जाने तयारीका साथ सामाजिक अपराधको कथा बोकेको पूर्ण रूपमा एक्सन प्रधान फिल्म 'हँसिया'को मंगलबार राजधानीमा शुभमुहुर्त गरियो । फिल्म निर्देशक सुरज सुब्बा 'नाल्बो'ले मुहुर्त सटको निर्देशन गरे भने क्ल्याप हान्ने जिम्मा प्रहरि नायव उपरिक्षक गणेश राईलाई दिईयो । यस्तै निर्माता संघका अध्यक्ष राजकुमार राई, गायक राजेश पायल राई र निर्माता गंगाराज राईले नरिवल फुटाएर मुहुर्त सटको अन्त्य गरे ।
.jpg)

ढिलै भएपनि मुहुर्त सटमा छोटो कपालमा उपस्थित भएका अभिनेता राजेश हमाल मुख्य आकर्षकको केन्द्रबिन्दू बने । छोटो कपालमा पनि जवान देखिएका हमाल फिल्ममा क्राईम इन्भेस्टिगेसन ब्यूरो (सिआईबी) प्रमुखको भुमिकामा प्रस्तुत हुँदैछन् । यस्तै फिल्मको मुख्य भुमिकामा राजेशकै सहकर्मी बनेर मोडल हेमा श्रेष्ठ क्राईम इन्भेस्टिगेसन ब्यूरो (सिआईबी) अफिसरको भुमिकामा प्रस्तुत हुँदैछिन् ।

.jpg)
थुप्रै म्युजिक भिडियो तथा विज्ञापनको निर्देशनबाट अनुभव लिएका मिलन चाम्सले फिल्मको निर्देशन गर्नेछन् । गंगाराज राईको साथमा दुर्गा घले, सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङको संयुक्त लगानी रहने यो फिल्ममा राजेश र हेमाको साथमा अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलोक कार्की, बिजय कुँवर, किरण राई, शिशिर राणा सहित बालकलाकारको रूपमा पहिलो मिस नेपाल रूवी राणाकी छोरी प्रशंशा शाहले पनि अभिनय गर्दैछन् ।


अनुप सापकोटाको लेखन रहेको हँसियामा राजकुमार उप्रेतीको द्धन्दनिर्देशन रहनेछ । यस्तै फिल्ममा राम केसीको छायाँकन, कल्याण सिंहको संगीत तथा निलम आङबुहाङ राईको गीत रहनेछ । ४५ दिनको सुटिङ सेड्यूल निकालिएको यो फिल्म चाम्स इन्टरटेन्मेन्टको व्यानरमा बन्नेछ ।


