Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

`राजेश र कपाल कहिल्लै बुढो हुँदैन` : अभिनेता हमाल

फिल्मीखबर, काठमाण्डौ, 2013/07/09

राजेश हमालको नाम जति चर्चित छ उनको लामो कपालले पनि उत्तिकै चर्चा पाएको हुन्छ । अझ भन्नु नै पर्दा, राजेशको परिचयसँग उनको कपाल पनि जोडिएको हुन्छ । लामो जुल्फी हल्लाउँदै पर्दामा 'हे' भनेर चिच्याउने हमालको कपालसँग दर्शकको पनि सम्बन्ध छ । त्यसैले त कति दर्शकले राजेशको जस्तै कपाल पाल्दै उनको नक्कल गर्ने खोजेका हुन्छन् ।

 

आफ्नो शरिरसँग जोडिएको हरेक चिजको माया सबैलाई हुन्छ । राजेश हमाल पनि यस्ता व्यक्ति हुन् जसले ५ दशकसम्म पनि कपालको माया मार्न सकेनन् र सक्दैनन् पनि । कपालकै लागि आफ्ना पितासँग निकै संघर्ष गर्नु परेको बताउने हमालले पिताको स्वर्गारोहण हुँदा पनि कपाल फाल्न सकेनन् । 'मेरो रोजाईमा कहिल्लै छोटो कपाल हुन सकेन', मंगलबार फिल्म हँसियाको मुहुर्त समारोहमा छोटो कपालमा उपस्थित भएका हमालले भने- 'क्यारेक्टरको लागि मात्र कपाल छोटो बनाएको हुँ । मैले आजिवन कपाल लामै राख्नेछु ।'

 

आफ्नी आमाको स्वर्गारोहण भएपछि पहिलो पटक कलाप काट्न पर्दा राजेश निकै दु:खी थिए । आमालाई निकै माया गर्ने हमाललाई त्यो बेला कपालको भन्दा बढि माया आमाको भयो । त्यहि मौकामा दर्शकले राजेशलाई फिल्म अंगरक्षक र जे भो राम्रै भोमा छोटो कपालमा देख्ने मौका पाए । 'त्यो बेला मलाई निकै अप्ठ्यारो लागेको थियो,' फिल्मीखबरसँग गफिंदै हमालले भने- 'मेरो रोजाई छोटो कपाल हैन । त्यसैले सकेसम्म कपाल काट्न नपरे हुन्थ्यो जस्तो लाग्छ ।'

 

निर्देशक दीपेन्द्र के खनालले राजेशलाई लामो समयको अन्तराल पछि फिल्म 'द युगदेखि युगसम्म'मा छोटो कपाल सहितको नयाँ लुक्समा प्रस्तुत गराए । राजेशको त्यो बेला छोटो कपालको निकै चर्चा पनि भयो । 'बाउ मर्दा त कपाल काट्न नमान्ने हमालले कसरी माने ? भन्ने जिज्ञासा फिल्मकर्मीमा थियो ।

 

'पहिला पर्सनालिटीमा फिल्म बन्थे जसले गर्दा क्यारेक्टर जस्तो भएपनि कपालको मतलव हुन्थेन । र, त्यस्तै फिल्म बढि चल्थे । तर अहिले धेरै परिवर्तन भईसकेको छ । अहिले फिल्म क्षेत्रले नयाँ मोड लिईसकेको छ', चौथो पटक फिल्म हँसियाका लागि कपाल छोट्याएका हमालले भने- 'अब फिल्म स्टाईलले भन्दा पनि क्यारेक्टरले चल्न थालेका छन् । त्यसैले म पनि क्यारेक्टरमा आउन निर्देशकको आग्रह बमोजिम छोटो कपालमा उपस्थित भएको हुँ ।' उनी गत बर्ष रिलिज भएको फिल्म 'फर्की आऊ'मा पनि छोटो कपालमा उपस्थित भएका थिए ।

 

अन्तिम सास रहुञ्जेल सम्म पनि कपाल लामो नै राख्ने सोच बनाएका हमाललाई फिल्मीखबरले प्रश्न तेर्स्यायो- कपाल झर्यो भने के गर्नुहुन्छ ? हमालेहमालले हाँस्दै भने- 'मेरो कपाल हिउँदे बाली हैन झरिरहने । न राजेश हमाल बुढो हुन्छ न कपाल ।'

 

छोटो कपालमा हिड्दा केहि अप्ठ्यारो महसुश गर्ने हमालले ठट्यौली पारामा भने- 'छोटो कपाल हुनुको एउटै फाईदा, नुहाउन सजिलो हुन्छ । अनि स्याम्फू र समयको पनि बचत हुन्छ ।'