वर्षातको सिजन फिल्म मेकिङको लागी अफसिजन मानिन्छ । यो बेलामा न फिल्मले हलमा राम्रो व्यापार गर्छ न सुटिङमा फिल्म राम्ररी अगाडी बढ्छ । त्यसैले यो सिजनलाई फिल्मकर्मीहरुले ‘अफसिजन’ मान्छन् । त्यसो त वर्षात सबैखाले व्यापारको लागी अफसिजन नै हो । तर अहिले पोखरामा केहि नौला प्रयोगहरु भैरहेका छन् ।
वर्षातको सिजनको कुनै प्रवाह नगरि अहिले पोखरेली फिल्मकर्मीहरु जुर्मुराएका छन् । यहि सिजनमा हप्तैपिच्छे फिल्मको प्रदर्शन हुन थालेको छ भने यहि सिजनमा फिल्मको धमाधम सुटिङ पनि । असार महिनामै सुटिङ शुरु भएको फिल्म ‘सुराक’ले झरीको बिचमै सुटिङ सकाएर पोखरा फर्किएको छ । तनहुँको भुजिकोट गाउँमा सुटिङको लागी पुगेको टोलीले झरीको कुनै परवाह गरेन । फिल्मलाई रंगकर्मी माओत्से गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा निरज पन्त, मनोज घर्तीमगर, सोम गुरुङ, रजनी गुरुङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
झरीकै बिचमा अर्को एउटा फिल्म अहिले सुटिङका लागी फ्लोरमा पुगेको छ । ‘द डे ईज टुडे’ शिर्षक राखेर फ्लोरमा गएको फिल्म युनिटले अहिले कास्कीको कालिका वरिपरी धमाधम सुटिङ गरिरहेको छ । फिल्मलाई अमृत नेपालीले निर्देशन गरिरहेका छन् । नेपालीले फिल्म निर्देशनमा यहि फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा मनिष केसी, अदिप श्रेष्ठ, सुमित तामाङ, रोहन, किरण थापा, सन्जिब गोदार, लक्ष्मी नेपाली, शर्मिला बस्नेत लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्मलाई मिलन शंकर र गणेश सापकोटाले खिच्दैछन् । फिल्मको कथा अजित सुवेदीले लेखेका हुन् भने संगीत योगेश काजीले दिएका हुन् ।

त्यस्तै असारको २६ गते अर्को एउटा फिल्मको शुभमुर्हत हुँदै छ । फिल्मको नाम हो ‘मोफसल’ । मोफसलमा बसेर फिल्ममा कलाकार बन्नलाई स्ट्रगल गरिरहेका युवायुवतीको कथा नै फिल्ममा समावेश गरिने यसको निर्माण पक्षले जनाएको छ । फिल्मलाई पल्टन नायक दीपेन्द्र श्रेष्ठले निर्देशन गर्दैछन् । साउनको पहिलो साताबाट फिल्म फ्लोरमा जाने निर्देशक श्रेष्ठले जानकारी दिए । यो फिल्मलाई मिलन शंकरले खिच्नेछन् भने संगीत योगेश काजी कै रहनेछ ।

त्यस्तै वर्षात सिजनकै बिचमा अर्को एउटा गुरुङ फिल्मले समेत सुटिङ शुरु गर्ने भएको छ । गुरुङ भाषा र सँस्कृतिमा आधारित रहेर बन्ने भनिएको फिल्म ‘च्ह च्हमी’ अर्थात छोराछोरीलाई प्रितम गुरुङले निर्देशन गर्दैछन् । यसै फिल्मबाट गायक नरजंग गुरुङ समेत नायकको रुपमा प्रस्तुत हुन लागेका छन् । फिल्म साउनको सात गतेदेखि फ्लोमा जाने निर्माण पक्षले जनाएको छ । फिल्मलाई सन्तोष कोन्मेले खिच्दैछन् । फिल्म रोधी डिजिटल स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको हो ।

