सुर्खेत स्थायी घर भएकी सुमिना घिमिरे फिल्म दुलही मार्फत सोझी एवम् सुन्दरी अभिनेत्रीको छवि कोर्दै रजतपट प्रवेश गरिन् । डेव्यु फिल्मबाटै अवार्ड उचाल्न सफल सुमिना पछिल्ला तीन फिल्म नाइन ओ क्लक, अप्रिल फुल र प्रदर्शनरत लभ फरेभरमा भने बढी नै एक्सपोज भइन् ।
दर्शकले यी फिल्मलाई उच्छृङखल फिल्मको संज्ञा दिदै दुलहीकी सोझी सुमिना प्रति गुनासो समेत गरेको सुन्न पाइयो । उसो त दुलहीका दुलाहा अभिनेता राजेश हमालले पनि केही यौन विषय केन्द्रित फिल्ममा अभिनय गरेका छन् । दर्शकको गुनासो अभिनेता हमाल प्रति भन्दा पनि सुमिना प्रति बढी छ ।
फ्यानको चर्को गुनासो आएपछि सुमिनाले आगामी दिनमा सेक्स कन्टेन्ट रहेका फिल्ममा अभिनय नगर्ने बताएकी छिन् । फिल्म भिमदत्तको सुटिङमा व्यस्त सुमिनाले भनिन्- 'कलाकार भएपछि हरेक रोलमा फिट हुनुपर्छ । मैले पर्दाको पात्रलाई मात्र निभाएकी हुँ । अबका दिनमा म दर्शकलाई निराश पार्ने भुमिका निर्वाह गर्ने छैन ।'
.jpg)
नवल खड्काको फिल्म भिमदत्तमा टिपिकल गाउँले महिलाको भुमिकामा प्रस्तुत भएकी सुमिनाले पछिल्ला दिनमा बन्ने गरेका फिल्मको विषय प्रति गुनासो समेत गरिन् । उनले भनिन्- 'यौन केन्द्रित विषयमा फिल्म बन्ने क्रम तिब्र छ । हामी कलाकार नै कुन फिल्म खेल्ने ? कुन नखेल्ने ? भन्नेमा दोधारमा छौं ।'
जे होस्, सुमिनाले आगामी दिनमा यौन केन्द्रित र दर्शकबाट गुनासो आउने फिल्म नखेल्ने उद्घोष गरेकी छिन् । सुमिना आफैले फिल्म अप्रिल फुल र लभ फरेभर हेरेकी छैनन् । लाज लागेर फिल्म नहेरेको हो ? भन्न प्रश्नमा सुन्दरी भन्छिन्- 'लाज लागेर भन्दा पनि समय नमिलेर फिल्म हेर्ने मौका मिलेको छैन । आफैले हेर्न नमिल्ने फिल्म त मैले कहाँ खेलेको छु र ?'

