दार्चुलामा हालै आएको बाढीका कारण पीडित भएका सर्वसाधारणलाई राहत संकलन गर्ने उद्देश्यले युवा संघ व्यास नगर कमिटीले च्यारिटी शो गर्ने भएको छ । नगर कमिटीले बाढी पीडितका लागि राहत संकलन गर्न नेपाली फिल्म ‘महसुश'को च्यारिटी शो आयोजना गर्न लागेको कमिटी अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।
च्यारिटी शो यही असार २९ गते शनिबार दमौली स्थित मनकामना चलचित्र मन्दिरमा प्रर्दशन गरिने उनले बताए । च्यारिटी शोबाट संकलन हुने रकम बाढी पीडितलाई हस्तान्तरण गरिने उनले बताए । नवल नेपालको निर्देशन रहेको प्रेम कथानक ‘महसुश’मा समयलाई कसैले रोक्न सक्दैन, समयलाई आफ्नो नियन्त्रणमा राख्न खोज्दा हार बाहेक अरु केही हात लाग्दैन र त्यसपछि हामीबाट भुल भएको महशुस हुन्छ भन्ने विषयवस्तुलाई कथाका रुपमा उठाइएको छ ।
फिल्ममा आर्यन सिग्देल, निर शाह, केकी अधिकारी, बेनिशा हमाल, हिउँवाला गौतम, रश्मी भट्ट, रविन्द्र खड्का, अप्सरा घिमिरे लगायतको अभिनय रहेको छ । च्यारिटी शोमा आर्यन, केकी अधिकारी, बेनिशा, निर्माता कल्याण घिमिरे लगायतको समेत उपस्थिति रहने बताइएको छ ।

