सम्भवतः यो साता फिल्म हल सुनसान हुनेछन् । हलको बत्तीको चार्ज पनि मुस्किलले उठ्नेछ । कारण, शुक्रबार प्रदर्शनमा आएका तीन फिल्म बारे दर्शकलाई कुनै जानकारी छैन । ठुलै हल्ला गरिएका फिल्म समेत डब्बा भैरहेको स्थितिमा गुपचुप रुपमा रिलिज गरिएका फिल्मले दर्शक नपाउने पक्का छ । असार २१ मा प्रदर्शन भएका जीवनलीला, सुट र द रेपको सुरुवाती व्यापार अत्यन्त न्यून रहेको वितरक तथा हलवालाको जानकारी छ ।

अल नेपाल रिलिजमा आएका यी तीन फिल्मको संयुक्त ग्रस कलेक्सन दुई दिनमा २० लाख पनि नआउने वितरक बताउँछन् । काठमाण्डौका स्टेशनमा जीवनलीला प्रदर्शनको जिम्मा लिएका वितरक सुनिल मानन्धरका अनुसार तीन फिल्मकै सुरुवाती व्यापार निराशको छ । वितरक मानन्धरका अनुसार जीवनलीलाको काठमाण्डौ ग्रस कलेक्सन साढे चार लाख नजिक छ । उनका अनुसार काठमाण्डौका स्टेशनमा जीवनलीलाको कलेक्सन उच्च छ । मोफसलका हलमा यी फिल्मको व्यापार काठमाण्डौको भन्दा पनि न्यून रहेको बुझिएको छ । कम्तीमा पच्चीस लाख खर्चेर निर्माण भएका यी फिल्मका निर्माता पाँच लाख नेट पनि नपाउने वितरक बताउँछन् ।
दोस्रो हप्तामा लभ फरेभर
.jpg)
कलाकार शंकर आचार्य निर्देशीत फिल्म लभ फरेभर दोस्रो हप्तामा प्रदर्शन भैरहेको छ । काठमाण्डौका गुण, गोपी र अष्टनारायण हलमा लभ फरेभर दोस्रो हप्तामा प्रदर्शन भैरहेको निर्देशक आचार्यले बताए । हिजो शनिबार काठमाडौका स्टेशनमा अन्य फिल्मको भन्दा लभ फरेभरको व्यापारिक रिपोर्ट उच्च रहेको निर्देशक आचार्यले दाबी गरेका छन् । फिल्मको व्यापार बारे निर्देशक आचार्य भन्छन्- 'फिल्मलाई दर्शकले मन पराउनु भएको छ । फिल्मको व्यापार अघिल्लो साताको भन्दा माथि छ ।' राज आचार्य निर्मित लभ फरेभरमा सुमिना घिमिरे, गजित विष्ट, निरज बरालको अभिनय छ ।

