प्रदर्शनको क्रममा रहेको फिल्म 'सरी ल' हिरोईन अनिता आचार्यले नक्साल स्थित बाल मन्दिरमा रहेका अनाथ बालबालिकाहरूलाई खाध्यान्न प्रदान गरिन् । उनले नुन, तेल, चामल, चाउचाउ, चक्लेट, खेलकुद सामाग्री लगायतका सामाग्री प्रदान गरिन् ।


आफूले फिल्म 'सरी ल'बाट पाएको पारिश्रमिकको ७५ प्रतिशत रकम उक्त बाल मन्दिरमा रहेका अनाथ बालबालिकाहरूका लागि सहयोग गरेकी हुन् । 'पहिलो फिल्मको कमाई राम्रै ठाउँमा खर्च होस् भन्ने सोचेर नै सहयोगको हात अगाडी बढाएकी हुँ,' अनिताले भनिन्- 'यसलाई पब्लिसिटीको रूपमा नहेरिदिनु होला ।' सानैदेखि समाजसेवामा लाग्ने रूची रहेको बताउँदै अनिताले भोलीका दिनमा पनि यस किसिमको सहयोगी हात अगाडी बढाईरहने बताईन् ।

अनिताको सहयोग अभियानमा उपस्थित भएका सरी ल निर्देशक ऋषि लामिछानेले आफैले जन्माएको हिरोईनले यसरी समाजसेवा प्रति झुकाव देखाउँदा खुसी व्यक्त गरे । 'कलाकार चर्चामा आउन बिभिन्न स्क्याण्डल अपनाउछन् । मेरो हिरोईनले भने यसरी सामाजिक भावना देखाउँदा निकै खुसी छु ।' अनिताबाट हरेक फिल्मकर्मीले पाठ सिक्नुपर्ने ऋषिको भनाई छ ।

यता हिरोईन आचार्यले राम्रो फिल्मको अफर आए मात्र काम गर्ने बताउँदै गरेका कामबाट पाएको पारिश्रमिक मध्ये केहि रकम यस्तै अनाथ बालबालिकाहरूका लागि खर्चिने बताईन् । 'यस्तो काम गर्न पाउँदा आत्मसन्तुष्टी हुन्छ,' अनिताले भनिन् ।

