नेपाल रिलिज अनिश्चित फिल्म वनफूलले चलचित्र जाँच पास समितिबाट विश्वव्यापी प्रदर्शनको अनुमती पाएको छ । जीवनसाथी फिल्मस र शैली थिएटरको संयुक्त प्रस्तुती वनफूललाई जाँच पास समितिले असार २१मा युनिभर्सल अर्थात 'यू' सर्टिफिकेट प्रदान गरेको हो ।
जीवनसाथी फिल्मसका प्रमुख जीवनसाथी बस्नेतले सेन्सर पासको जानकारी गराए । फिल्म निर्माण कम्पनीबाट निर्माण भएको पहिलो फिल्म अन्तरालको कमजोर हल व्यवस्थापनका कारण व्यापार राम्रो हुन नसकेको भन्दै आफ्नो दोस्रो प्रोजेक्ट वनफूललाई नेपाल रिलिज नगर्ने निर्णय गरेको थियो । हल वितरण प्रणाली र वर्तमान फिल्म बजार सुध्रिएमा नेपालमा फिल्म रिलिज गर्ने सम्भावनालाई निर्माता बस्नेतले नकारेका छैनन् ।
नवराज बुढाथोकी निर्देशित फिल्मलाई भोली (असार २२) गते पोखराको उद्योग वाणिज्य हलमा प्रदर्शन गराईंदै छ । सेती बाढी प्रभावितको सहयोगार्थ फिल्मलाई मध्यान्न १२ बजे र साँझ ३ बजे देखाईंदै छ । फिल्मको बिशेष प्रदर्शनीमा सहभागी हुन निर्देशक बुढाथोकी सहित कलाकार सुनिल पोखरेल र मञ्जु देवकोटा आज पोखरा पुगेका छन् ।

