पार्टीले टिकट उपलब्ध गराए काठमाण्डौबाटै प्रत्यक्ष संविधान सभाको चुनाव लड्ने अभिनेता भुवन केसीले बताएका छन् । मंसिरमा हुने निर्वाचनमा टिकट लिन नेकपा एमाले केन्द्रिय कार्यालयमा धाइरहेका अभिनेता केसीले काठमाण्डौको कुन क्षेत्रबाट चुनाव लड्ने ? भन्ने बारे खुलाएनन् ।
काठमाण्डौ सिनामंगलका स्थानीय भुवनले भने- 'यदि पार्टीले मलाई संविधान सभाको चुनावमा योग्य उम्मेद्धार ठानेर टिकट उपलब्ध गराउँछ भने म चुनाव लड्न तयार छु । म पार्टीले दिने जिम्मेवारी वहन गर्न तयार छु ।' एमाले पार्टीको कुनै पनि जिम्मेवार पदमा नरहेका भुवनले कुन-कुन कलाकर्मीलाई चुनावको टिकेट उपलब्ध गराउने बारे पार्टीको केन्द्रिय समितिमा बृहत छलफल भैरहेको समेत बताए । नेकपा एमालेबाटै निर्देशक दिनेश डिसी चुनावमा लड्ने बताइएको छ ।
'साथी म तिम्रो' पछि फिल्म निर्माणमा विश्राम लिएका उनले आफ्नै निर्देशनमा करोडपतीको सिक्वेल बनाउँदैछन् । फिल्ममा उनी सहित पुत्र अनमोल केसीको अभिनय रहनेछ । साथमा करोडपतीको सिक्वेलमा एक जना चल्ती र एक जना नयाँ नायिका रहने जानकारी फिल्मको स्क्रिप्टमा व्यस्त रहेका भुवनले गराए । फिल्म निर्माण बारे भुवनले भने- 'एक महिना भित्र हामी सबै जानकारी गराउने छौं ।'
मंसिर महिना मिति तोकिएको संविधान सभाको चुनावमा अभिनेता भुवन केसी सहित अभिनेत्री रेखा थापा पनि गृह जिल्ला मोरङबाट उठ्ने बताइएको छ । दशैमा रिलिज गर्ने गरी काली फिल्मलाई खिचिरहेकी रेखा एनेकपा माओवादीकी क्यान्डिडेट हुन् । भुवन, रेखा र निर्देशक डिसीसँगै अन्य केहि फिल्मकर्मी पनि आगामी संविधान सभाको चुनावमा उठ्ने बुझिएको छ ।

