'यो कथा हो तिम्रो मेरो' नाम दिएर ओम प्रतीकले फिल्म निर्देशन गर्ने भएका छन् । फिल्ममा कलाकार समेत रहेका ओम प्रतीकको लगानी रहनेछ । उनको यो तेस्रो प्रोजेक्ट हो ।
यसअघि द्धन्द्धको कथामा फर्कि आऊ निर्माणसँगै निर्देशन गरेका ओमले 'यो कथा हो तिम्रो मेरो'मा भने पारिवारिक प्रेमकथालाई समावेश गरेका छन् । यही साउन चार गतेबाट सुटिङ प्रारम्भ गरिने फिल्ममा निर्माता तथा निर्देशक प्रतीक सहित रिस्ता बस्नेत, गणेश उप्रेती, रवि कार्की, रमेश उप्रेतीको अभिनय रहनेछन् । अभिनेता जीवन लुइँटेलसँग भने मौखिक अभिनय गर्ने बारे कुरा भैरहेको उनले बताए ।
फिल्ममा सुरेश बज्रचार्यको क्यामेरा तथा विकास चौधरीको संगीत छ । नृत्य निर्देशनमा भने गोविन्द प्रभात, नारायण रिजाल, राम बुढाथोकी र अनमोलको रहनेछ । तिम्रो माया उनान्सय मेरो माया सय' फिचर फिल्म डेव्यु निर्देशक ओम प्रतीकले फिल्मको बजेट ४५ लाख गरेको बताए । रमेश कुमार राईको कथा रहेको यो फिल्मको काठमाण्डौ, सौराह र दाङमा सुटिङ हुनेछ ।
फिल्मको सुटिङ तालिका एक महिनाको राखिएको छ । फिल्मलाई माघे सक्रान्तिमा रिलिज गरिने निर्माता तथा निर्देशक बताउँछन् । मानविकी संकायमा दोस्रो वर्षमा अध्ययनरत छोरीलाई होम प्रोडक्सनबाट डेव्यु गराउने योजनालाई भने निर्देशक ओम प्रतीकले स्थगित गरेका छन् ।

