अभिनेत्रीका लागी विवाह गर्नु कलाकारिताबाट सन्यास लिनु जत्तिकै भएको छ । आधा दर्जन अभिनेत्री विवाह पश्चात एक्सन कटमा फर्किएका छैनन् । अझ आमा बनेपछि त अभिनेत्री गुमनाम जस्तै बनेका छन् ।
निखिल उप्रेतीसँगको दोस्रो विावह पश्चात अभिनेत्री संचिता लुइँटेल गुमनाम जस्तै बनेकी छिन् । संचिता विवाह पछि अभिनयले भन्दा पनि एक वर्षको अन्तरालतमा दुई वटा सन्तानलाई जन्म दिएर चर्चामा रहिन् । काठमाण्डौको माईती घरमा एक छोरा र एक छोरीको स्याहारमा व्यस्त संचिता तत्काल भने अभिनयमा फर्किने मनस्थितिमा छैनन् । केही समय अघि फिल्मीखबरसँगको कुराकानीमा उनले छोरा छोरी हुर्काएर मात्रै एक्सन कटमा फर्कन सक्ने धारणा व्यक्त गरेकी थिइन् । संचिताका पती अभिनेता निखिल उप्रेती भने बलिउड फिल्मको निर्देशनमा जुटेका छन् ।

त्यस्तै निर्देशक शंकर घिमिरेसँग वैवाहिक जीवनमा बाँधिएपछि अभिनेत्री ऋचा घिमिरे पनि फिल्मको अभिनयमा फर्किएकी छैनन् । तुलसी प्रदर्शनको लागी पती शंकर र एक वर्षे छोराको साथमा केही महिना अघि हङकङ तथा मकाउ भ्रमणमा निस्किएकी ऋचा अझै एक वर्ष अभिनयमा नफर्कने योजना बनाएपनि एउटा फिल्ममा भने यही भदौ महिनाबाट सुटिङमा निस्कने बताउँछिन् ।
.jpg)
शरिरको वजन घटाउने योजना बुन्दै गरेकी ऋचा भन्छिन्- 'मल्टी स्टारर फिल्मको काठमाण्डौमा मात्रै सुटिङ हुने हुनाले काम गर्न लागेकी हुँ । अब एक वर्ष सम्म सुटिङको लागी भ्याली बाहिर निस्कने छैन ।' तीजको मौका पारेर यही भदौ २१ गते प्रदर्शनमा आउन लागेको फिल्म तुलसीको प्रोमोशनमा निस्कने योजना बुन्दै गरेकी ऋचा भन्छिन्- 'सन्तानको अगाडी हरेक कुरा गौण हुने रहेछ । अहिले अभिनय मेरो लागी सेकेन्डरी पक्ष बनेको छ ।'
.jpg)
अर्की विवाहित अभिनेत्री अरूणिमा लम्साल भने आमा भएको एक वर्षमै एक्सन कटमा फर्किइन् । फिल्म उर्वशीमा छोटो रोलमा देखिएकी अरूणिमा पीपलमा भने प्रमुख भुमिकामा देखिएकी छिन् । बिस महिने छोरीलाई स्कूल पठाउने तयारी गरिरहेकी अरूणिमा भन्छिन्- 'अबको समय कलाकारितालाई दिन्छु ।' बैङ्कर अमित अर्यालसँग लगनगाँठो कसेकी अरूणिमा आफु जुनसुकै रोलमा अभिनय गर्न तयार रहेको बताउँछिन् । दिपशिखा फिल्मकी लेखिका अरूणिमा सन्तान जन्मिएपछि पनि उत्तिकै सुन्दर छिन् ।

अभिनेत्री मेलिना मानन्धर पनि मुकेश ढकालसँगको विवाह पछि अभिनयमा पातलिन थालिन् । फाट्टफुट्ट फिल्ममा देखिएकी मेलिनाको छोरी जन्मेपछि भने कलाकारिताले लगभग बिश्राम लिएको अवस्था छ । छोरीलाई हुर्काउँदै गरेकी मेलिना अभिनय गर्ने अवसर आए नो भन्ने पक्षमा छैनन् । बरु उनका पति अभिनेता मुकेश ढकाललाई भने विवाह पछि लक लागेको छ । मुकेश भने बिहेपछि नै फिल्ममा व्यस्त भए ।

त्यस्तै अभिनेत्री उषा रजक पनि छोरी जन्माएर फिल्म कथा मार्फत कम ब्याक भइन् । कथा प्रोमोशनमा काठमाण्डौ आएकी उषाले आफुमा अभिनयको नशा मरिनसकेको बताएकी थिइन् । विपना थापा, जल शाह, सज्जा मैनाली, पूजा चन्द जस्ता अभिनेत्री विवाह पछि अभिनयमा फर्किएका छैनन् । देश छोडेर विदेश हानिएका यी अभिनेत्रीको फिल्मी कमब्याक सहज भने देखिदैन । बरू बिबाह पछि पनि अभिनेत्री करिष्मा मानन्धर, झरना थापा फिल्म क्षेत्रमा सक्रिय भईरहेका छन् ।

