फिल्म बर्दीको अहिले राजधानीको विभिन्न स्थानमा छायाँकन भईरहेको छ । यो फिल्ममा नायक कुशल थापा प्रहरी निरिक्षकको भूमिकामा छन् भने अभिनेत्री रूपा खनाल ‘बिशाखा’ले कुशलको पत्नीको भूमिका निर्वाह गरिरहेकी छिन् । यी पती पत्नीको मिसन भनेकै अपराधीलाई फन्दामा पारेर सजाय दिलाउनु हो । फिल्ममा बर्दीमा देखिने यी कलाकार यतीबेला भने माया प्रेमको गीत गाउँदै नाच्न व्यस्त छन् ।
पती पत्नी केही सयम बिछोडिनु पर्ने भएपछि यी जोडीले एक अर्का प्रति गीत सँगीतको माध्यमबाट अथाह माया गर्छन् । यही मायाको दृष्य काठमाडौंको उत्तरपूर्वी क्षेत्र नाङ्लेभारे, भोटेचौर आसपासमा बिहिबार देखिएको हो । त्यहाँ छायाँकन भईरहेको रोमान्स गीतमा रूपा र कुशललाई नृत्य निर्देशक प्रदीप श्रेष्ठले नचाईरहेका थिए । ‘सुरुमा दुई दिन अभ्यास गराएँ । अहिले रुपा र कुशलको नृत्य निकै राम्रो भईरहेको छ,’ नृत्य निर्देशक प्रदीप श्रेष्ठले भने ।
फिल्मको निर्देशन बिजय बिक्रम बस्नेतले गरिरहेका छन् । अरु दुई दिन नृत्यको छायाँकन गरेर त्यसपछि बाँकी छायाँकनको लागि सर्लाही जाने निर्देशकले जानकारी गराए । गत शनिबारबाट छायाँकन सुरु भएको यो फिल्मको काठमाडौंमा केही दृष्य र गीतको छायाँकन भईरहेको छ । बिहिबार छायाँकन भईरहेको गीतमा रूपा र कुशलको जोडी अत्यन्त मिलेको र उनीहरुले नृत्य पनि राम्रो गरेको निर्देशकले बताए ।
कुमार आचार्यले यो फिल्म निर्माण गरिरहेका छन् । शुक्रबार भने अनु शाह र बिरेन डिसीको गीतको छायाँकन हुने निर्माता आचार्यको भनाई छ । आचार्यको अनुसार यो फिल्मका बाँकी कलाकारमा भानु प्रताप, शिब खडका, म्यान्डी बाबु, सरोज शाह, आरपी भट्टराई लगायत छन् । फिल्मको छायाँकन गणेश श्रेष्ठले गरिरहेका छन् ।





