अभिनेत्री शुष्मा कार्की फरक लुक्समा भेटिइन् । उध्रेको चोली आईटम गर्ल शुष्मा चापागाइँ फिल्म सुटिङ स्टुडियोमा सिउँदोमा सिन्दुर र मङगलसुत्र लगाएको अवस्थामा थिइन् । अनुप्रस्थ ब्यान्डका भोकलिस्ट नरेनसँगको व्रेक ह्याङमा रहेकी शुष्मा स्टुडियोको सेटमा भने हर्षित देखिन्थिन् ।
विन्दास गर्ल शुष्मालाई देख्ने जो कोहीले भन्थे- 'शुष्माले त बिहे गरिछन् ।' तर, शुष्मा भन्छिन्- 'यो बिहे होइन, नाटक हो ।' शुष्माले भनेजस्तै उनी चापागाइँ स्टुडियोको सेटमा फिल्मको लागी नाटक गर्दै थिइन् । विन्दास-२ प्याकअप लगत्तै शुष्मा पाप नामक फिल्ममा व्यस्त भएकी हुन् । अभिनेता आयुष रिजालको अपोजिटमा देखिएकी शुष्माले पापमा विवाहित नारीको भुमिका निभाउँदै छिन् ।
कस्तो विवाहित नारी ? शुष्माले फिल्मको पात्र बारे सस्पेन्स क्रियट गरिन्- 'यो अहिले खोल्न मिल्दैन । निर्देशकले भुमिका बारे केही नबोल्न भन्नु भएको छ ।' विकास शर्मा गौतमको लगानी रहेको पापलाई एनआर घिमिरेले निर्देशन गर्दैछन् । फिल्मबारे निर्देशक घिमिरेले पनि केही खुलाउन चाहेनन् । फिल्ममा पवन गौतमको क्यामेरा एवम् रोशन श्रेष्ठको एक्सन डाईरेक्सन छ । राकेश पराजुली रणपालको कथामा निर्माण हुँदै गरेको पापमा रिलिज डेट फाइनल गरिएको छैन ।

निर्देशक घिमिरेसँग फिल्म युनिट बारे जानकारी लिइरहँदा शुष्मा भने सोचमग्न देखिइन् । हामीले प्रश्न तेर्सायौं, 'बिहे बारे के सोच्नु भएको छ ?' 'बिहे बारे मेरो कुनै योजना छैन ।' नरेनसँगको लिभिङ टुगेदर क्यान्सिल पश्चात आमासँग बस्दै आएकी शुष्माले भनिन्- 'जन्म, मृत्यू र बिहे भगवानकै हातमा हुन्छ रे । त्यसकारण बिहेको विषयलाई भगवानकै हातमा छोडिदिएको छु ।'
वाउसन्सर रिलिजको पर्खाइमा रहेकी शुष्मा पापको सुटिङ प्याकअप भएलगत्तै साँस्कृतिक कार्यक्रमको लागी मलेसिया उड्नेछिन् । मलेसिया पछि उनको भ्रमण हङ्कङ र युरोपियन मुलुकमा हुनेछ । शुष्मा योजना सुनाउँछिन्- 'युरोपबाट फर्केपछि फिल्मको सुटिङमा व्यस्त हुन्छु । मेरो अबको पुरै समय कलाकारितामा हुनेछ ।'

