आफ्नी आमाको खोजीका लागी भारत गएका निर्माता सुनिल कुमार थापा रित्तो हात घर फर्किएका छन् । चारधामस्थित केदारनाथ मन्दिरको दर्शन यात्रामा रहेकी ५८ वर्षीय सुनिल कुमार थापाकी आमा तारा थापा बाढीमा हराएकी थिइन् ।
भाई प्रणील थापालाई साथ लिएर आमाको खोजीमा भारत पुगेका सुनिलले फिल्मीखबरसँग भने- 'हामीलाई घटनास्थल सम्म पुग्न दिइएन । हामी केदारनाथ मन्दिर भन्दा ७६ किलोमिटर टाढा बस्यौं ।' आमा सकुशल हुने कुरामा निर्माता थापाले निराशा व्यक्त गरे । सँगै दर्शन यात्रामा निस्किएका ७ जना नेपाली तीर्थयात्री घर फर्किएको बताउँदै उनले भने- 'सकुशल हुने सम्भावना धेरै कम रहेको जानकारी पाइयो ।'
बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार कार्य जारी छ । पछिल्लो समय फेसबुक फिल्म निर्माण गरेका सुनिल कुमारले घटना बारे सम्पूर्ण विवरण एक महिना पछि मात्रै प्राप्त हुने बताए । सुनिलकी अभिनेत्री पत्नी झरना थापा हाल फिल्म नो स्मोकिङको छायाँकनमा व्यस्त छिन् । झरनाले पनि आफ्नी सासुको घटना प्रती दु:ख व्यक्त गरेकी छिन् ।