अभिनेता आर्यन सिग्देलले ब्यानर साझेदारीमा फिल्म निर्माण गर्ने भएका छन् । सुवास इन्टरटेनमेन्टसँगको साझेदारीमा आर्यनले फिल्म बनाउने भएका हुन् ।
आर्यन र सुवास गिरीको अधा-आधा लगानी रहने फिल्मको वर्किङ टाईटल 'नेभेम्वर रेन' राखिएको छ । भाद्र दोस्रो साताबाट फ्लोरमा जाने यो फिल्मको निर्देशन दिनेश राउतले गर्नेछन् । दिनेशको आइ एम सरी पछि 'नेभेम्वर रेन' दोस्रो प्रोजेक्ट हो । विशुद्ध प्रेमकथामा आधारित 'नोभेम्वर रेन'मा कथा छेतन गुरुङको छ भने पटकथा तथा संवाद सामिप्य तिमल्सिना र छेतनको रहेको छ । फिल्मको मुख्य पात्र निर्माता सिग्देल नै हुनेछन् । आर्यन हाल सुदर्शन थापाले निर्देशन गर्दै गरेको फिल्म मधुमासको सुटिङमा व्यस्त छन् ।
आर्यनको अपोजिटमा भने अभिनेत्री नम्रता श्रेष्ठको संभावना छ । स्क्रिप्ट अध्ययन गरिसकेकी नम्रताले समय मिलेमा आर्यनको प्रोजेक्टमा काम गर्ने उत्सुकता देखाएकी छिन् । फिल्मीखबरसँग नम्रताले भनिन्- 'मलाई स्क्रिप्ट मन परेको छ । आर्यनसँग काम गर्ने ईच्छा छ । अन्य प्रोजेक्ट नजुधेमा आर्यनको प्रोजेक्टलाई गर्छु होला ।' मेरो एउटा साथी छ पछि आर्यन र नम्रता दोस्रो पटक एकसाथ देखिनेछन् ।
केही सातामा आर्यन र सुवासको फिल्मबारे सबै योजना सार्वजनिक गरिने निर्देशक राउतको जानकारी छ । प्राप्त जानकारी अनुसार फिल्मको लगानी पचास लाख सम्म रहनेछ । फिल्मलाई भ्यालेनटाइन डेको अवसर पारेर प्रदर्शन गरिनेछ । केही वर्ष अगाडी नै फिल्म निर्माण गर्ने योजना बनाएका आर्यनले वर्ष ०७० मा आएर योजनालाई मूर्त रुप दिएका छन् । आर्यनको यो वर्ष दबाब, महसुश र लोफर रिलिजको क्रममा छन् ।

