देश जस्तै फिल्म क्षेत्र पनि संक्रमणकालमा छ । एकाध बाहेक पुराना निर्माताले फिल्म निर्माण गर्ने हिम्मत जुटाउन सकेका छैनन् । हिम्मत जुटाएर फिल्म निर्माण गर्ने निर्माता पनि नाफामा छैनन् ।
बर्षको सुरुवातमा हमेशा रिलिज गरेका पाका निर्माता छविराज ओझालाई फिल्मको लगानी रिकभर गर्न हम्मे हम्मे पर्यो । यद्यपी निर्माता ओझा लोफर निर्माणको क्रममा छन् । वर्ष ०७०को असार दोस्रो सातासम्म निर्माता ओझा मात्रै हैन करिब २८ फिल्मका निर्माता असुरक्षित छन् । असार दोस्रो हप्ता सम्म पर्दामा २८ नेपाली फिल्म रिलिजमा आएको आँकडा छ । जुन फिल्मका निर्माता नेपाल रिलिजबाट आफ्नो लगानी रिकभर गर्न सफल छैनन् ।
निर्मातालाई राम्रै राहत पुर्याउँदै आएको ओभरसिज मार्केट पनि अनुकुल अहिले छैन । लुटले बनाएको ओभरसिज मार्केटलाई पछिल्ला फिल्मले नराम्ररी बिगारेको बताइन्छ । चरम मिडिया प्रचार पाएको छड्के जस्ता फिल्मले ओभरसिज मार्केटलाई ध्वस्त बनाइदिएको निर्माताको गुनासो छ । दर्शक तथा समिक्षाकबाट राम्रै प्रतिक्रिया पाउन सफल फिल्मका निर्माता गुनासो पोख्छन्- 'निर्माताले ओभरसिजमा फिल्म रिलिज गरेर रकम पाउने आशा नगरे हुन्छ ।'
मिडिया हाइपमा रहेका फिल्मले समेत व्यापारमा हावा खाएपछि विदेशी वितरकले पछिल्लो समय फिल्म खरिद गर्ने कामलाई ठप्प पारेका छन् । एक सयको संख्यामा रहेका फिल्म हल केही महिना यता ४५ को संख्यामा खुम्चिएका छन् । जब हल बन्द हुन्छ, त्यहाँ फिल्मको व्यापार स्वतः घट्न जान्छ । हलको संख्या कम हुनाले एउटै मितिमा फिल्म रिलिज गर्न चाहने निर्माता बिच अस्वस्थ खेल सृजना भएको छ । अस्वस्थ प्रतिस्पर्धाले घाटा निर्मातालाई नै पुगेको छ ।
फिल्मसँग सम्बन्धित निर्माताका अनुसार भिसीडी राईटको बजार पनि सेलाएको छ । भिसीडी बेच्ने कम्पनी नेपाली फिल्म प्रती लगानी गर्न उत्साही छैन । मोबाइल फोन, पेन ड्राईभ जस्ता साधनमा फिल्म सजिलै कपी गर्न सकिने भएपछि भिसीडिको बजार चौपट भएको कम्पनीको गुनासो छ ।
बक्स अफिस, हल तथा फिल्म वर्गीकरण प्रणालीले भने वर्तमान फिल्मी बजारलाई केही राहत दिने फिल्मकर्मीको अपेक्षा छ । यद्यपी फिल्म सम्वद्ध संघसंस्था बीच नै विवादित बनेको यो प्रणाली पनि कार्यन्वयनमा आएर सकारात्मक प्रभाव पर्नेमा भने फिल्मकर्मी ढुक्क हुन सकेका छैनन् ।

