गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर विश्वलाई प्रमाणित गर्न दुई फिल्म निर्माण हुने छन् । निर्देशक तुलसी घिमिरे र अभिनेता रमित ढुंगाना बुद्ध बारे फिल्म निर्माणमा जुटेका छन् ।
'सिद्धार्थ गौतम' नाम दिइएको निर्देशक घिमिरेको फिल्म एनिमेटेड हुनेछ । लगातार फ्लप फिल्म दिईरहेका निर्देशक घिमिरे भन्छन्- 'गौतम वुद्धको जन्मभुमी नेपाल हो भन्ने बारे ऐतिहासिक तथ्यलाई एनिमेशनमा देखाइनेछ ।' मिहास इन्टरटेनमेन्टको प्रस्तती रहने सिद्धार्थ गौतमको लगानी नेपाली दुई करोड सम्म हुने निर्देशक घिमिरेको दाबी छ । विश्व बजारलाई प्रदर्शनको लक्ष्य राखिएको यो फिल्म पूर्ण रुपमा निर्माण हुन दुई वर्ष लाग्ने उनले बताए ।

अभिनेता रमित ढुंगानाको निर्माण रहने फिल्मको नाम भने 'बुद्ध वर्न इन नेपाल' राखिएको छ । यो फिल्मको कथा अभिनेता ढुंगाना स्वयमले लेखेका हुन् । दिनेश न्यौपानेको पटकथा एवम् संवादमा ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् । फिल्म निर्माणकै लागी अमेरिकाबाट केही महिना अगाडी नेपाल ब्याक भएका अभिेनेता ढुंगाना अहिले फिल्म सुटिङको तालिका मिलाउन व्यस्त छन् ।

फिल्मको करिब पच्चिस प्रतिशत सुटिङ नेपालको लुम्विनी, पोखरा, नारायणघाट, जोमसोम र काठमाण्डौ शहरमा हुने अभिनेता ढुंगानाले जानकारी गराए । बाँकी पचहत्तर प्रतिशत सुटिङ भने न्यूयोर्क शहरमा हुनेछ । अमेरिकामा सागारिक फिल्मस् प्रोडक्सन हाउस स्थापना गरेर बसेका रमित भन्छन्- 'बुद्ध नेपालमै जन्मेका हुन् भन्ने प्रमाण सहितको फिल्म बन्नेछ ।'
लामो समयदेखि रिसर्च गरेको बताउने रमितले अब भने फिल्मको सुटिङ गर्न तयार रहेको बताए । तर सुटिङ डेट भने उनले फाईनल गरेका छैनन् । रमित बाहेक अन्य कलाकार छनोट प्रक्रिया भैरहेको फिल्ममा दिर्घ गुरुङको छायाँकन, सुरेश अधिकारीको संगीत एवम् विकास विष्टको शब्द रचना रहनेछ । 'बुद्ध वर्न इन नेपाल'लाई विश्वका लाइव्रेरीमा प्रदर्शनको लागी राखिनेछ ।

