‘म तिम्रो शहरमा फुल्न सकिन
रंगीन वगैंचामा झुल्न सकिन
वेचेर मनका संगीत सारा
सस्तो खेलौना म बन्न सकिन’
जीवनसाथी फिल्म्स र शैली थिएटरको संयुक्त व्यानरमा निर्मित फिल्म ‘वनफूल’ यहि असार २२ गते शनिबार पोखरा सभागृहमा पहिलो पटक प्रर्दशन गरिने भएको छ । सेती वाढी स्मृति पार्क कोषको सहयोगार्थ फिल्मको विशेष प्रदर्शनी गरिने भएको हो ।
शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नेपालमै पहिलो पटक पोखरामा फिल्मको प्रदर्शनी गर्न लागिएको युनिटले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका कलाकार महेश श्रेष्ठले असार २२ गते पोखरा सभागृहमा १२ र ३ बजे गरी दुई शो प्रदर्शन गरिने जानकारी दिए । श्रेष्ठले विश्वव्यापीकरणका कारण हाम्रो जस्तो अविकसित मुलुकमा ठुला राष्ट्रहरुबाट भएको सामाजिक र साँस्कृतिक अतिक्रमणलाई देखाउन खोजिएको बताए । उनले आर्थिक उदारिकरणसंगै चोकचोकमा पाईने सस्ता मालसामानले हाम्रो परम्परागत पेशामा पारेको असरलाई समेत फिल्मले समेटेको उल्लेख गरे ।
‘ठूला देशहरुले हाम्रा बहुमूल्य कच्चामाल कौडीको मोलमा किनेर तिनीहरुबाटे फ्याक्ट्रीमा निर्मित तयारी माल हामीलाई नै उच्च मूल्यमा बेचेर आर्थिक शोषण गरिरहेका छन्’– उनले भने–‘यहि विषयबस्तुलाई फिल्ममा देखाउन खोजिएको छ ।’ श्रेष्ठले समाजिक सेवाको माध्यमबाट समाज विकास र परिवर्तनमा योगदान दिई समाजसंग जोडिन ‘च्यारीटी शो’ को आयोजना गरिएको बताए ।
फिल्म वनफूलका निर्माता मदन बरालले दूर दराजमा रहेको एउटा शिल्पी, जसले निर्माण गरेका कलालाई विश्व बजारमा व्यापारिक सामग्री बनाउन नचाहँदा उसले झेल्ने विभिन्न पारिवारिक झमेलालाई फिल्ममा समेटिएको बताए । उनले करिब ३० लाखमा फिल्म निर्माण भएको जानकारी दिए । पोखरामा प्रदर्शन गरेपछि काठमाण्डौ, दार्जिलिङ, सिक्किम, अष्ट्रेलिया लगायतका ठाउँमा पनि विशेष प्रदर्शन गरिने जनाए । हलमा सार्वजनिक प्रदर्शन गर्ने मिति भने अहिले नै तय नभएको बरालले बताए । उनले टिकट विक्रीबाट आएको रकममा खर्च कटाएर २० प्रतिशत रकम कोषलाई हस्तान्तरण गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा नाट्यकर्मी प्रकाश घिमिरेले फिल्मलाई मनोरञ्जनको साधनमात्रै नमानेर समान परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले अहिले लक्षित समुदायसम्म फिल्म नपुग्दा चलचित्रको बजार खस्किएको अनुभुति व्यक्त गरे । कार्यक्रममा पोखरा फिल्म सोसाईटीका अध्यक्ष घनश्याम लामिछाने फिल्म वनफूलको प्रस्तुतीको प्रशंसा गरे । अर्का फिल्मकर्मी विष्णु गौतमले फिल्मलाई लक्षित वर्गसम्म पुर्याउन विशेष प्रदर्शनी उपयुक्त माध्यम हुनसक्ने विचार व्यक्त गरे ।

कार्यक्रममा फिल्मको प्रोमो र गीत समेत प्रदर्शन गरिएको थियो । फिल्मका सबै कलाकार थिएटरका हुन् । पटकथा/संवाद/निर्देशन नवराज बुढाथोकीको रहेको फिल्मको निर्माण मदन बराल र विवि बस्नेतले गरेका हुन् । फिल्मका कलाकारहरुमा सुनील पोखरेल, महेश श्रेष्ठ, मन्जु देवकोटा, मदन बराल, बासुदेव खनाल, अशोक शिवाकोटी, मन्जु गिरी, शुशिला रिमाल, समन्त आचार्य, सरोज गोले आदि रहेका छन् ।
फिल्मका कथा/गीत महेश पौड्याल, संगीत देवेन्द्र राई ,पाश्र्व संगीत जुगल डंगोल, छायाङ्कन राजीव मानन्धर र सम्पादन चन्दन दत्तको रहेको छ । फिल्मको मुख्य सहायक निर्देशक आकाश मगर हुन् । फिल्मको पटकथा र संवादमा राजेश गोंगजुले विशेष सल्लाह दिएका छन् । जीवनसाथी फिल्म्सले यसअघि चलचित्र अन्तरालको प्रदर्शन गरिसकेको छ ।

