हाँस्य कलाकारको फिल्म 'छ एकान छ'ले असार चौध गते देखी छायाँकन प्रारम्भ गरेको छ । सितापाईला स्थित बृहत कोलोनीमा क्यामेरा पूजा र फिल्म सफलताको कामना पश्चात सुटिङ शुरू गरिएको निर्माता निर्मल शर्माले जानकारी दिए ।
फिल्मको पहिलो टेक नायिका निता ढुङ्गाना र कलाकार अर्जुन श्रेष्ठले लिएका थिए । फिल्मलाई दिनेश डिसीले निर्देशन गर्दैछन् । 'छ एकान छ'को पूरै सुटिङ काठमाण्डौ भित्र र काभ्रे स्थित धुलिखेलमा हुनेछ । फिल्मलाई ३५ दिन भित्र प्याकअप गर्ने निर्माण युनिटको लक्ष्य छ । पूर्ण रुपमा हाँस्य प्रधान हुने भनिएको फिल्मको कथा दिपकराज गिरीको हो । फिल्ममा दिपाश्री निर्रौलाको भने सह-निर्देशन रहनेछ । दिपाले 'छ एकान छ'मा अभिनय गर्ने छैनन् ।
'छ एकान छ'मा दिपक सहित सिताराम कट्टेल (धुर्मस), केदार शर्मा (माग्ने बुढा), जितु नेपाल, शिवहरी पौडेल, निर शाह, सन्दिप क्षेत्री, शैलेश आचार्य लगायतको अभिनय रहनेछ । अभिनेता राजवल्लभ कोइराला पनि 'छ एकान छ'मा प्रमुख अतिथिको रोल छ । पुरुषोत्तम प्रधान क्यामेरा पर्सन रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध निर्देशन तथा शम्भुजित बाँस्कोटा र राजशन इशानको संगीत छ ।
त्यस्तै फिल्ममा विपना थापाको हेयर स्टाइल एमव् शंकर थापाको श्रृङगार छ । फिल्ममा निर्मल शर्मा 'गैंडा'ले चालिस लाख नजिक लगानी गर्ने बताइएको छ । 'छ एकान छ' यही वर्ष रिलिज हुनेछ ।

