०६९ फागुनमा सम्पन्न भैसक्नु पर्ने नेफ्टा अवार्ड वर्ष ०७० असार लागी सक्दा पनि आयोजना हुन सकेको छैन । चलचित्र प्राविधिक संघ भन्दा पछाडी मिति घोषणा गरेका डिजिटल फिल्मीखबर, अनलाइन फिल्मीखबर अवार्ड सम्पन्न भैसकेका छन् भने राष्ट्रिय चलचित्र पुरस्कार राष्ट्रपतिको समयले अल्झाएको छ । त्यस्तै एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार केही महिनामै सम्पन्न हुँदैछ । तर, प्रतिष्ठित मानिने नेफ्टा अवार्ड चाहि किन समयमै आयोजना हुन सकेन ? फिल्मीखबरसँग नेफ्टाका अध्यक्ष मनोज केसीले यस बारे आफ्नो धारण राखेका छन् -
१. मुख्यः प्रायोजक फेयर एण्ड ह्यान्डसमले गर्दा पनि अवार्ड केही समय पर सरेको हो । देशको पछिल्लो घटनाक्रमले गर्दा प्रायोजक कम्पनी अहिले नै नेफ्टासँग सहकार्य गर्न तयार छैन । फेयर एण्ड ह्यान्डसम नेफ्टा मार्फत गतिलो प्रचारमा आउँदैछ ।
२. भेन्यु र प्रत्यक्ष प्रसारण गर्ने टेलिभिजनसँगको डिलले गर्दा पनि नेफ्टा आयोजना हुन समय लागेको हो । कान्तिपुर र टिटिभीसँग प्रत्यक्ष प्रसारण बारे छलफल भैरहेको छ ।
३. अहिलेसम्म सम्पन्न भएका अवार्डमा देखिएका कमी कमजोरीलाई सुधार गर्न नेफ्टा आयोजना हुन समय लागेको हो । हाम्रो अवार्डमा कुनै पनि विवाद र समस्या नआओस् भन्ने हाम्रो उद्धेश्य छ ।
नेफ्टा अवार्डमा वर्ष ०६८ वैशाख देखी ६९ असार सम्म प्रदर्शनमा आएका डिजिटल तथा सेलुलाइड फिल्म बीच ३१ वटा विधामा प्रतिस्पर्धा हुँदैछ । यी विधा मध्ये उत्कृष्ट पाँचको मनोनयन केही दिनमा सार्वजनिक गरिने अध्यक्ष केसीले जानकारी गराएका छन् । उत्कृष्ट पाँचको मनोनयनमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर र भरत शाक्य, कलाकार सुनिल थापा, रंगकर्मी प्रभावकर देव शर्मा, छायाँकार जावेद शाहको जुरी कमिटि सहभागी थियो । सम्भवतः नेफ्टा अवार्ड मलेसियामा आयोजना हुने बताइन्छ ।

