फिल्म 'ग्याम्बलर'का निर्माता यादव गुरूङले 'अमर' नामक फिल्म बनाउने भएका छन् । हाल ग्याम्बलरकै रिलिजको दौडधुपमा रहेका निर्माता गुरूङले मंसिरमा फ्लोरमा जाने गरि 'अमर'को प्रि-प्रोडक्सनको काम भईरहेको जानकारी गराए ।
ग्याम्बलर निर्देशनको जिम्मा रमेश बुढाथोकीलाई दिएका गुरूङले अमरको निर्देशक भने तय गरेका छैनन् । 'कस्लाई लिने भन्ने बारे छलफल भईरहेको छ,' गुरूङले भने- 'निर्देशक मात्र हैन कलाकार र प्राबिधिकहरू पनि तय गरिएको छैन ।' गायक तथा नायक यश कुमारको कथामा नयनराज पाण्डेले अमरको पटकथा तथा संवाद तयार पार्दैछन् । फिल्मको पर्दा पछाडीको हिरोको कथामा निर्माण गर्न लागिएको अमरमा यश कुमार भने अभिनेताको रूपमा फाईनल भएका छन् । फिल्ममा यश कुमारकै शब्द संगीत रहनेछ ।
याक मुभिजको ब्यानरमा निर्माण भएको 'ग्याम्बलर' यहि भाद्र ७ गते रिलिज हुने बताईएको छ । जुवाडेको कथा बोकेको यो फिल्ममा राजेश हमाल, सुमन सिंह, कल्पना शाही, सोनिया केसी, सौजन्य सुब्बा, निर्देशक पत्नी बिना बुढाथोकी लगायतले अभिनय गरेका छन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

