बाँकी रहेको सुटिङ पूरा गर्न आधी बाटो नायिका जेनिशा केसी मंगलबार युके प्रस्थान गरेकी छिन् । जेनिशाको साथमा फिल्मका अर्का कलाकार कृष्ण तुलाचन र क्यामेराम्यान कुशल श्रेष्ठ पनि मंगलबार राति पौने १२ बजेको विमान मार्फत युके प्रस्थान गरेका हुन् ।
आधी बाटोका निर्देशक सबिर भने युके गएनन् । काली फिल्मको सुटिङ गर्नु पर्ने भएकाले सबिर युके जान नसकेका हुन् । 'एउटा गीत र केहि मोन्टाज सट खिच्नु पर्नेछ जसमा मेरो उपस्थिती नभएपनि फरक पर्दैन,' सबिरले भने- 'तै पनि सुटिङ गर्ने बेला मसँग कुरा सटको बारेमा कुरा हुन्छ र मैले यहिबाट नै निर्देशन दिनेछु ।' निर्माता रमेश त्वायना पनि सुटिङका लागि लक्जम्बर्गबाट युके पुगिसकेका छन् ।
फिल्ममा बाबुको भुमिका निर्वाह गरेका कृष्ण तुलाचन युकेमै बस्छन् । उनी नेपाल आएको बेला यो फिल्ममा अभिनय गरेका हुन् । उनी ब्रिटिश आर्मी हुन् । नेपालको पार्ट नवराज थापाले खिचेका हुन् भने युके पार्ट कुशल श्रेष्ठले खिच्ने छन् । कुशल पनि युकेमै बस्दै आएका एनआरएन हुन् । जगदिश्वर थापाले लेखेको यो फिल्ममा यश कुमार, सबिन श्रेष्ठ, जेनिशा केसी, रूवी राणा, अनु शाह लगायतले अभिनय गरेका छन् ।

